लामो समयपछि मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार सुदूरपश्चिम प्रदेश सभाको नेकपा संसदीय दलको बैठक आह्वान गरे। नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री भट्टले आह्वान गरेको बैठकमा नेकपा नेता भीम रावलको पनि सहभागिता थियो।
नेकपा विभाजनपछि सांसदहरु ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको अवस्थामा बोलाइएको बैठकलाई महत्वपूर्ण ढंगले हेरिएको थियो। त्यो सँगै नेता रावल नै बैठकमा सहभागी हुने भएपछि झनै चासोका साथ हेरिएको हो। तर प्रचण्ड–माधव समूहको बहुमत रहेको नेकपा संसदीय दलको सो बैठकमा ओली पक्षीय सांसदहरु निकै निरीह समेत देखिएका थिए।
करिब डेढ घण्टासम्म चलेको बैठकमा ओली पक्षीय सांसदलाई बोल्न समेत दिइएको थिएन। एक जना ओली समूहका सांसदले भने, “प्रमुख सचेतक तारा लामा तामाङले ‘निर्णयमा हस्ताक्षर नगर्नेले बोल्न र बस्न पाइन्दैन। बाहिर जानू’ भनेर भने, तर हामीले हाम्रो अधिकार हो भनेर बसिरह्यो।”
प्रमुख सचेतक तारा लामा तामाङले बैठकमा बोल्न र बस्न नपाइने भनेपनि नेता रावलले बोल्न दिने भनेपछि ओली समूहका पूर्वमन्त्री भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले भने मन्तव्य राखेको बताइएको छ। बैठकले ३ बुँदे निर्णय गरेको छ। तर ओली समूहका ६ जना सांसदहरुले विना एजेण्डाको रेडिमेड निर्णयमा हस्ताक्षर गर्न लगाएको भन्दै हस्ताक्षर गर्न इन्कार गरेको बताइएको छ।