• होमपेज
  • देश
  • अझै ट्युबमा महाकाली तरेर आउँदै

अझै ट्युबमा महाकाली तरेर आउँदै

भन्छन् : ज्यान जोगाउन मुस्किल भयो त्यसैले जोखिम मोलेर आयौं

  • बिहिबार, बैशाख २५, २०७७
अझै ट्युबमा महाकाली तरेर आउँदै

बैतडी : बैतडी पारि भारतको क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई स्वदेश ल्याइए पनि महाकाली नदी तरेर नेपाल आउने क्रम रोकिएको छैन । उनीहरु, सीमा क्षेत्रमा खटिएको शसस्त्र प्रहरीलाई छल्दै लुकीछिपि फर्कने क्रम जारी रहेको छ ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले सीमा नाका बन्द गरेको भए पनि महाकाली नदीमा सशस्त्र प्रहरीको आँखा छल्दै उनीहरु ट्युबमार्फत तरेर नेपाल फर्किन थालेका हुन् । सीमा नाका बन्द हुँदा आफूहरुलाई समस्या परेकाले ट्युबमार्फत नेपाल आएका शिवनाथ गाउँपालिकाका जयसिंह साउँदले बताए ।

उनले भने, ‘हामी भारतमा अलपत्र पर्‍यौं । ज्यान जोगाउन मुस्किल भयो । नेपाल सरकारले फिर्ता ल्याउन पहल नगरेपछि जोखिम मोलेर महाकाली तरेर आएका हौं । विपद्को समयमा घर सम्झेर आयौं ।’ उनी आफैँ शिवनाथको क्वारेन्टाइनमा गएका छन् ।

गत बैशाख १८ गते भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई स्वदेश ल्याइएको बेलामा नाका खुल्यो भन्ने खबर सुनेका अरु नेपालीहरु पनि हिँडेरै सीमामा पुगेका थिए । उनीहरुलाई भारतले पनि क्वारेन्टाइन राख्न नमानेपछि पैसा भएकाहरु ट्युबमा तरेर नेपाल आईरहेका छन् भने पैसा नहुनेहरु, उतै फर्किने गरेका छन् ।

भारतमा रोजगारी गुमेको र सीमामा पनि भारतीय पक्षले क्वारेन्टाइन राख्न नमानेपछि अलपत्र परेकाहरु जोखिम मोलेर नेपाल भित्रिरहेका हुन् । ‘कामकाज सबै बन्द भयो । खानाकै समस्या भएपछि ज्यानको बाजी लगाएर महाकाली नदी तरेर स्वदेश फर्किएका हौं । मर्नुपरे पनि स्वदेशमै मरौंला भनेर यता आएका हौं’, शिवनाथका शंकर तिरुवाले भने, ‘हामी यता आएर क्वारेन्टाइनमा बसेका छौं । बरु हाम्रो चेकजाँचमा ध्यान दिइयोस् तर विदेशी भूमीमा अलपत्र नछोडियोस् ।’ उनी पनि आफैँ क्वारेन्टाइनमा गएका छन् ।

बैतडीमा पर्ने ६४ किलोमिटरको सीमानामा ६ ठाउँमा मात्रै शसस्त्र प्रहरी तैनाथ छ । शसस्त्र प्रहरीले पहिलादेखि चलेका घाटहरुलाई लक्षित गरे पनि, भारतबाट फर्किनेहरु शसस्त्रको आँखा छलेर आउन थालेका हुन् । बैतडीको भारतसँग सीमाना जोडिएको ६४ किलोमिटरमा पञ्चेश्वर नगरपालिकाको गिरेगाडा, बलाराघाट र रोलघाट, शिवनाथ गाउपालिकाको कुस्मौदघाट, दसरथ चन्द नगरपालिकाको बाराकोट र सेरा घाटमा मात्रै शसस्त्र प्रहरीको अस्थाइ चेकपोष्ट राखिएको छ ।

कम्तीमा पनि १० किलोमिटरको पैदल दुरीमा रहेका शसस्त्र प्रहरीको आँखा छल्दै धेरै नेपालीहरु नेपाल फर्किन थालेका हुन् । बुधबार मात्रै तीन जना दोगडाकेदार गाउँपालिकामा पनि महाकालीमा ट्युब तरेर नेपाल पुगेका छन् ।
भारतसँग सीमा जोडिएका विभिन्न ठाउँमा अझै पनि नेपालीहरु अलपत्र परेका छन् । कोरोना कारण रोजगारी खोसिएपछि उनीहरु अलपत्र परेका हुन् । ‘हामीहरु रोजीरोटी बन्द भएपछि लोहाघाटबाट हिँडेर झुलाघाट पुगेका हौं । ४ दिन कल्भर्टमुनि बस्यौं । त्यहाँबाट प्रहरीले पहिलेकै ठाउँमा जान भनेपछि हामी हिँडेर धेरै टाढा एउटा घरमा भोकभोकै बसिरहेका छौं’, बाजुराको बुढीनन्दा नगरपालिका ९ का मनबहादुर बोहराले भने, ‘हामी पनि सक्ने भने पौडी खेलेरै भए पनि स्वदेश आउँथ्यौं । परदेशमा हामीलाई धेरै दुःख छ । भोकभोकै बसिरहेका छौं । सरकार हामीलाई कहिले काम लाग्छ ?’

भारतीय सीमा झुलाघाट र धार्चुलामा अलपत्र परेका अढाइ हजार बढी नेपालीको यही वैशाख १८ गते उद्दार गरिएको भए पनि अझै धेरै नागरिक सीमामा छन् । नाका खुलेको भन्दै गलत सूचना पाएका उनीहरु पिथौरागढ, लोहाघाट लगायतका स्थानबाट तीन दिन हिँडेर सीमामा पुगेका हुन ।
उनीहरु मध्ये कोही ट्युबमार्फत जोखिम मोलेर स्वदेश फर्किरहेका छन् । यो हप्ता मात्रै बैतडीमा १५ जना बढी ट्युबमार्फत स्वदेश फर्केका छन् ।

अन्नपूर्णा पोष्टबाट

चर्चामा

सम्बन्धित समाचार