• होमपेज
  • समाज
  • घरमै पुगेर स्वास्थ्य परीक्षण

घरमै पुगेर स्वास्थ्य परीक्षण

  • सोमवार, चैत्र २४, २०७६
घरमै पुगेर स्वास्थ्य परीक्षण

मकवानपुर : मकवानपुरका ग्रामीण बस्तीमा स्वास्थ्यकर्मी घर घरमै पुगेर स्वास्थ्य परीक्षण गरिरहेका छन्। सहरका ठूला अस्पतालले पनि बिरामी जाँच्न नमानिरहेको समाचार आइरहँदा विकट क्षेत्रमा काम गर्ने स्वाथ्यकर्मी भने घर–घरमा पुगेर स्वास्थ्य परीक्षणमा जुटेका हुन्।

पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले प्रत्येक घरमा पुगेर स्वास्थ्य चेकजाँच गर्ने अभियान सञ्चालन गरेको छ। गाउँपालिकाभित्र विदेशबाट फर्किएका १३ जनाको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख फटिकरमण प्याकुरेलले बताए। गाउँपालिकाभित्रका ८ स्वास्थ्य संस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध सचेतना कार्यक्रम र चेकजाँचमा खटाइएको उनले जानकारी दिए।

भीमफेदी गाउँपालिकाले पनि विदेशबाट गाउँ फर्किएका १९ जनाको घरैमा पुगेर स्वास्थ्य चेकजाँच गरेको छ। ‘सबैको स्वास्थ्य अवस्था सामान्य छ, होम क्वारेन्टाइनमा बस्नुभएको छ’, स्वास्थ्य संयोजक ध्रुवप्रसाद लामिछानेले भने, ‘तर पीपीई र एन ९५ मास्क अभावमा स्वस्थ्यकर्मी साथीहरूलाई ढुक्क भएर परिचालन भने गर्न सकिएको छैन।’ ८ वटा स्वास्थ्य संस्थाका २ डाक्टरसहित ५४ जना स्वास्थ्यकर्मीलाई २४ सै घण्टा स्वास्थ्य संस्था सञ्चालनसँग कोरोनाविरुद्धको सचेतना अभियान सञ्चालनमा खटाइएको उनले बताए।

राक्सिराङ गाउँपालिकाका स्वास्थ्यकर्मी विदेशबाट गाउँमा आएकाहरूको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिरहेका छन्। ‘विदेशबाट आएका र अन्यत्र काम गर्न गएर फर्केकाहरूलाई स्वास्थ्य परीक्षण गरेर निगरानीमा राखेका छौं’, राक्सिराङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय कपारीले भने, ‘अभाव र असुरक्षाबीच पनि हामीले सकेको काम गरेका छौँ।’

चेपाङ बाहुल्य रहेको राक्सिराङ–६ स्थित सिलिंगे हेल्थ एन्ड बर्थिङ सेन्टरको अस्थायी जाँच केन्द्रले लकडाउन भएयता मात्र १ सय ९९ जनाको स्वास्थ्य परीक्षण गरेको छ। लिसा हिमालया इभीको आर्थिक सहयोगमा दिगो विकासका लागि एकता नेपालले सञ्चालन गरेको उक्त क्लिनिकले तीमध्ये ज्वरोका ९१ जना बिरामी भेटिएको जनाएको छ। ‘मौसमी रुघाखोकी र ज्वरोको समस्या बढी देखिएको छ, उनीहरूलाई हामीले निःशुल्क औषधि र कोरोना संक्रमण हुन नदिने अपनाउनुपर्ने स्वास्थ्य सतर्कताबारे जानकारी दिने गरेका छौं’, परियोजनाका सहायक परियोजना व्यवस्थापक गोविन्द न्यौपानेले भने।

मनहरी गाउँपालिकाले आवासीय सुविधा दिएर २४ घण्टा स्वास्थ्यकर्मी परिचालित गरेको छ। उनीहरूले विदेशबाट फर्केका व्यक्तिहरूको घरघरमा पुगेर ज्वरो जाँच गर्ने कार्य गरिरहेको छ। कोरोना भाइरसको संक्रमण रोक्न गाउँपालिकाले ९ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिको नामावली संकलन गरी सम्बन्धित स्वास्थ्य संस्थामा ज्वरो जाँचका लागि यसअघि अनुरोध गरेको थियो।

तर, लकडाउनका कारण सवारी सुविधा नभएपछि घरघरमा पुगेर ज्वरो जाँच तथा परामर्श दिन थालिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए। गाउँपालिकामा १ सय ५० भन्दा बढी व्यक्ति पछिल्लो एक महिनायता विदेशबाट फर्केको गाउँपालिकाको तथ्यांक छ। मकवानपुरमा विदेशबाट करिब ४ जना फर्किएकाहरू सेल्फ क्वारेन्टाइनमा रहेको जिल्जा समन्वय समिति मकवानपुरले जनाएको छ।

गाउँमा नयाँ मान्छे प्रवेश निषेध

स्थानीय तहले नयाँ मान्छे गाउँमा प्रवेश निषेध गरेको छ। गाउँमा आफन्त भेट्न आउनसमेत रोक लगाइएको छ। राक्सिराङ गाउँपालिकाले आइतबार मात्र गाउँपालिका प्रवेश गर्न खोज्ने ५ जनालाई फिर्ता पठाएको छ। ‘अब हामी कोही गाउँमा नयाँ मान्छे प्रवेश गर्न दिँदैनौँ, सबै नाका कडाइ गरिएको छ’, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘आफन्त भेट्न भनेर नयाँ मान्छे आइरहेको छ, त्यो पनि हामीले रोकेका छौं।’

भीमफेदी गाउँपालिकाले भने लकडाउनसँगै गाउँपालिकाभित्र नयाँ मान्छे प्रवेश निषेध गरेको छ। ‘गाउँपालिका छिर्ने मुख्य नाकामा प्रहरी र स्थानीय युवा परिचालन गरिएको छ, हामीले कोही नयाँ मान्छे प्रवेश गर्न दिएका छैनांै’, गाउँपालिका अध्यक्ष हिदम लामाले भने, ‘संघीय सरकारको निर्णयसँगै यसलाई थप कडाइ गरेका छौं।’

मकवानपुरमा रहेका अन्य ८ स्थानीय तहले पनि बाहिरी मान्छे प्रवेशमा कडाइ गरिएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार