• होमपेज
  • देश/प्रदेश
  • शुक्रबार राजधानीबाट ९८ हजार बढी यात्रु बाहिरिए

शुक्रबार राजधानीबाट ९८ हजार बढी यात्रु बाहिरिए

  • शनिबार, चैत्र ८, २०७६
सेयर गर्नुहोस् :
शुक्रबार राजधानीबाट ९८ हजार बढी यात्रु बाहिरिए

काठमाडौं — कोरोना भाइरस (कोभिड १९) को त्रास बढिरहेको बेला त्यही नाममा यात्रुबाहक सवारीका साधनले दोब्बरसम्म भाडा असुली गरेको गुनासो आएको छ ।

पछिल्लो दुई दिनयता यात्रुहरु अत्याधिक संख्यामा राजधानीबाट बाहिरिरहेको बेला त्यही मौकामा यात्रुबाहक सवारीका साधनले मनपरी भाडा असुलेको यात्रुहरुको गुनासो छ ।

सरकारले बुधबार कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिएपछि राजधानीबाट बाहिरिनेको संख्या बढ्दो छ ।

शुक्रबार दिनभरमा राजधानीबाट बाहिरिने विभिन्न नाका हुँदै ९८ हजार ५१७ जना यात्रु बाहिरिएका छन् । यस्तै ४८ हजार ९८७ जना राजधानी भित्रिएका छन् ।

यसअघि बिहीबार काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या ९० हजार २०४ जना रहेको थिए ।

पछिल्लो समय विश्वभरी कोरोना भाइरसको सन्त्रास छ । एक महिना स्कुल, कलेज बन्द भएपछि अध्ययनका लागि काठमाडौँ बस्ने विद्यार्थीहरु धमाधम घर फर्किन लागेका छन् । त्यस्तै रोजगारीका क्रममा काठमाडौँ बस्ने अभिभावकहरु पनि कोरोना त्रासले छोराछोरीलाई लिएर गाँउ फर्किन लागेका हुन् ।

अचानक स्कुल, कलेज बन्द भएर गाँउ फर्कनेको संख्या बढेपछि बसपार्कमा भीड बढेको छ । शुक्रबार काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो।

यस्तो अवस्थामा आफू सुरक्षित हुनको लागि गाउँ फर्किन लागेका मानिसहरुलाई सहजै गन्तव्यसम्म पुग्न कठिनाइ भइरहेको छ ।

त्यसमाथि तोकिएको भन्दा बढी भाडा असुलिएको एक यात्रु भरत सिग्देलले गुनासो गरे । शुक्रबार काठमाडौंबाट नुवाकोटको केउरेनी सम्म जानको लागि लाग्ने भन्दा दोब्बर भाडा असुलिएको नुवाकोटको तारकेश्वरस्थित श्रीकृष्ण तारुका क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका उनले गुनासो गरे ।

‘हिजोसम्म काठमाडौँबाट नुवाकोट, केउरेनीसम्म डेढ सय रुपैयाँमा बोक्ने यात्रुवाहक बसले आज कोरोनाको असर भन्दै १० किलोमीटर यात्रा गरेपछि तीन सय रुपैयाँ माग्यो’, उनले गुनासो गरे, ‘डेढ सय भन्दा दिन नसकिने भन्दै प्रतिवाद गर्दा उल्टै चालक र सह चालकले अभद्र व्यवहार गरे।’

पछि प्रहरीकहाँ उजुरी गर्ने भनेर सबै यात्रुले चेतावनी दिएपछि चालक र सहचालकले तोकिएकै भाडा लिएको उनले बताए ।

यसैबीच प्रहरीले शुक्रबार काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएको अभियोगमा २३ जनालाई पक्राउ गरेको छ ।

बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेश प्रसाद साहलगायत २३ जनालाई शुक्रबार बिहान पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले बताए ।

काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा असुल गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको उनले बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको जानकारी दिए । उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गर्ने बताए ।

प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र प्यासेञ्जर बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ। यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली पनि परिचालन गरेको छ।

चर्चामा

सम्बन्धित समाचार