बेइजिङ । विश्व स्वास्थ्य संगठनले बुधबार रातिदेखि नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ विश्वभर महामारीको रुपमा फैलिएको घोषणा गर्यो । इटालीले क्वारेन्टाइन बढाउनुका साथै कडाइ गरेको छ । संयुक्त राज्य अमेरिकाले युरोपबाट हुने सम्पूर्ण उडानमाथि प्रतिबन्ध लगाएको छ । भारतले सम्पूर्ण भिसाहरुमा प्रतिबन्ध लगाएको छ । जसका कारण युरोप र एसियाको शेयर बजारमा भारी गिरावट आएको छ ।
तर, कोरोना भाइरसको संक्रमण सुरु भएको कोरोना इपिसेन्टर चीनको वुहानमा भने कोरोना संक्रमितको संख्यामा कमी आएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा कोरोना भाइरसको तीव्र संक्रमण सकिएको बताएका छ ।
आयोगका प्रवक्ताले बिहीबार भनेका छन्, “अहिलेको नोभेल करोना अर्थात कोभिड-१९ को प्रकोपको तीव्र संक्रमण समाप्त भएको छ ।”
बुधबार मात्र चीनमा १८ जना कोरोना संक्रमित भेटिएका थिए ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट बिहीबारसम्म विश्वभर चार हजार ६३६ जनाको मृत्यु भइसकेको छ । कोरोनाको संक्रमणबाट बिहीबारमात्रै २० जनाले ज्यान गुमाएका छन् ।
चीनका संक्रमित ८० हजार ७९६ मध्ये तीन हजार १६९ को मत्यु भइसकेको छ । चीनमा ६२ हजार ८०९ जना संक्रमित उपचारपछि निको भएर घर फर्काइएका छन् । अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये चार हजार २५७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
यसअघि चीनको कोरोना इपिसेन्टर वुहानमा राष्ट्रपति सी जिन पिङले भ्रमण गरेका थिए । उनले कोरोना संक्रमणमा दरमा कमी आउँदा कोरोना नियन्त्रणमा रहेको बताएका थिए । जनवरी २० वटा राष्ट्रव्यापी तथ्यांक लिन सुरु गरिएको चीनमा पछिल्लो साता संक्रमितको संख्यामा निकै कमी आएको हो । – सिन्ह्वा