काठमाडौं । १३ औँ सागअन्तर्गत नेपालले तेस्रो दिन पनि ठूलो सफलता हात पारेको छ । दोस्रो दिन १५ स्वर्ण जितेर सफल भएको नेपालले तेस्रो दिन आठ स्वर्ण जित्न सफल भएको हो । नेपालले तेस्रो दिन तेक्वान्दोमा दुई, करातेमा दुई, उसुमा दुई तथा दुवाथलन र एथ्लेटिक्समा एक-एक स्वर्ण जित्न सफल भएको हो ।
तेक्वान्दोमा नेपालका लागि पुरुष ६८ केजीमुनी गेरुगीतर्फ वीर महराले स्वर्ण जितेका हुन् । महराले पाकिस्तानका खेलाडी मोहमद फाहिमलाई अंकले पराजित गरे । त्यस्तै महिलातर्फ तेक्वान्दोमा ४६ केजीको गेरुगीमा काजल श्रेष्ठले स्वर्ण जितेकी हुन् । काजलले पाकिस्तानकी सायद जादीलाई पराजित गरेकी थिइन् ।
त्यस्तै करातेतर्फ महिला कुमुतेको ६८ केजीमुनि सुनिता महर्जनले स्वर्ण जितेकी हुन् । सुनिताले पाकिस्तानी खेलाडी कुल्सुमलाई ८-२ अंकले अपराजित गरिन् । करातेकै पुरुषतर्फ पाकिस्तानका खेलाडीलाई हराउँदै नेपालका नबिन रासाइलीले ६७ केजी कुमुतेमा स्वर्ण जितेका हुन् । नबिनले पाकिस्तानका अहमेद नासिरलाई ८-६ अंकले पराजित गरे ।
एथ्लेटिक्समा नेपालले १० हजार मिटरमा ऐतिहासिक स्वर्ण जित्न सफल भएको छ । नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी हुन् । भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् ।
नेपालले दुवाथालनमा पनि स्वर्ण जित्न सफल भएको थियो । नेपालका हिमाल टमटाले स्वर्ण पदक जितेका छन् । पुरुष एकलतर्फ हिमालले स्वर्ण जितेका हुन् । त्यस्तै नेपालले उसुमा दुई स्वर्ण जितेको छ । लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेका हुन् ।
पुरुषमा विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारेका थिए । विजयले ९.४८ अंक जोड्दै स्वर्ण जिते । महिलामा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारे ।
नेपालले महिला तथा पुरुष फुटबलमा सफलता हात पारेको छ । पहिलो दिनको खेलमा नेपाली पुरुष फुटबल टोलीले भुटानलाई ४-० गोल अन्तरले हराएको हो । त्यस्तै महिला फुटबलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
यता महिला भलिबलतर्फ नेपालले रजत पदक जितेको छ । नेपाल फाइनल खेलमा भारतसँग पराजित हुँदै रजत पदक जितेको हो । नेपाल भारतसँग ३-२ सेटमा पराजित भएको थियो ।