
बाजुरा— बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत क्युडीदेखि कोटीगाउँतर्फ जाने सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप माथिल्लो घुम्तीबाट अनियन्त्रित भई सडकभन्दा तल रहेको अर्को घुम्तीमा १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२, नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित ९ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको छ ।
दुर्घटनाको जानकारी स्थानीयले दिउँसो १:३५ बजे टेलिफोनमार्फत प्रहरीलाई गराएका थिए। सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट कुवाडीबाट प्रहरी सहायक निरीक्षक चित्रबहादुर मल्लको कमाण्डमा चार जना र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी सहायक निरीक्षक भीमसिंह धामीको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।
प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गर्दा हिमाली गाउँपालिका–२ नातिखोलाका करिब २५ वर्षीय चालक जनविर बुढाले चलाएको जिप अनियन्त्रित भई दुर्घटनामा परेको खुलेको प्रहरीले जनाएको छ।
यी हुन घाइतेहरू–
१. चालक बाजुरा हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष अं. २५ को जनविर बुढा ।
२. हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष ४० को धर्मलाल बुढा ।
३. हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष ३१ की मिजरा बुढा ।
४. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष अं. ४० को अम्मर सिंह बुढा ।
५. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २० की अस्मिता थापा ।
६. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २८ को जंग सिंह बुढा ।
७. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २० को गोरख रोकाया ।
८. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २७ को लोकेन्द्र बुढा ।
९. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष अन्दाजी ९ की सुस्मा बुढा ।


