शनिबार, असार २०, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • स्वास्थ्य सेवा सुधारको उदाहरण बन्दै बाजुरा अस्पताल

स्वास्थ्य सेवा सुधारको उदाहरण बन्दै बाजुरा अस्पताल

  • शनिबार, असार २०, २०८३
सेयर गर्नुहोस् :
स्वास्थ्य सेवा सुधारको उदाहरण बन्दै बाजुरा अस्पताल

टेक बहादुर बुढा—जिल्ला अस्पताल बाजुराले पछिल्लो समयमा स्वास्थ्य सेवा प्रभावकारी रूपमा प्रदान गर्दै आएको छ। अस्पतालले विशेषज्ञसहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएपछि विगतको भन्दा उपचारका लागि आउने बिरामीको संख्या समेत बढ्दै गएको छ।

अस्पतालमा भौतिक संरचना निर्माण र विशेषज्ञ सेवा प्रदान गर्न थालेपछि बिरामीको संख्या बढिरहेको जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए। अहिले बाजुरासहित हुम्ला, मुगु लगायत छिमेकी जिल्लाहरूबाट दैनिक १ सय ५० भन्दा बढी बिरामी उपचारमा आउने गरेको गिरीले बताए।

जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको नेतृत्वमा विशेषज्ञ सेवासँगै विभिन्न प्रकारका ऐच्छिक तथा आकस्मिक शल्यक्रियाहरू सफलतापूर्वक भइरहेका छन्। जिल्ला अस्पतालमा ९ जना मेडिकल अधिकृत र २ जना विशेषज्ञ चिकित्सकसहित ११ जना चिकित्सक रहेका छन्। अर्थोपेडिक डा. शिरिष श्रेष्ठ र एमडीजीपी डा. आशिष कार्कीले विशेषज्ञ सेवा दिइरहेका छन्।

अस्पतालमा दैनिक ४ जनाभन्दा बढीको अपरेशन हुने गरेको छ। अहिले अस्पताल १५ शैय्याको रहे पनि ५७ बेड सञ्चालन गरेको अस्पतालले जनाएको छ। अस्पतालमा चिकित्सकको दरबन्दी २ जनाको मात्र रहेको छ। एक जना नवौं तह र एक जना आठौं तहको चिकित्सक रहने व्यवस्था रहेको छ। सरकारी दरबन्दी ६ जना कार्यालय सहयोगीसहित जम्मा १८ जनाको मात्र रहेको छ। तर अहिले अस्पतालमा १ सय ३ जना कर्मचारी रहेका छन्।

अस्पतालले अपरेशन शुल्क २ हजारदेखि अधिकतम १० हजारसम्म लिने गरेको छ। एपेन्डिसाइटिसको अपरेशन शुल्क ७ हजार ५ सय, हाइड्रोसिलको अपरेशन शुल्क ४ हजार र अर्थोको अपरेशन शुल्क ४ हजारदेखि १० हजारसम्म लिने गरेको छ। यो सबैभन्दा सस्तो शुल्क रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

जिल्लामै विशेषज्ञ उपचार पाउने भएपछि नेपालगञ्ज, धनगढी वा काठमाडौंसम्म जानुपर्ने अवस्था एक तहसम्म हटेको छ। जिल्ला अस्पतालमा एपेन्डिसाइटिसका बिरामीहरूको एपेन्डेक्टोमी, हाइड्रोसिल शल्यक्रिया, हर्नियोप्लास्टी, खतना, सिबेसियस सिस्ट तथा लाइपोमा हटाउने शल्यक्रिया हुने गरेका छन्। गर्भाशयको मुखको पोलिप हटाउने शल्यक्रिया, स्तनको फाइब्रोएडेनोमा हटाउने शल्यक्रिया, शरीरका विभिन्न भागका फोका तथा स्तन फोका चिरेर उपचार गर्ने सेवा, इनग्रोन टोनेलको उपचार तथा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको अस्पताल बाजुराका प्रमुख डा. हरिश बहादुर मल्लले बताएका छन्।

जिल्ला अस्पतालका एमडीजीपी डाक्टर आशिष कार्कीले भने, “सीमित स्रोत–साधनका बीच पनि जिल्ला अस्पताल बाजुराले निरन्तर रूपमा जीवनरक्षक तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, जुन दुर्गम क्षेत्रको स्वास्थ्य सेवाका लागि प्रेरणादायी उदाहरण बनेको छ।”

जिल्ला अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर शिरिष श्रेष्ठका अनुसार हाडजोर्नी तथा हातखुट्टा सम्बन्धी विभिन्न शल्यक्रिया र उपचार सेवाहरू जिल्ला अस्पतालमा उपलब्ध छन्। हात वा खुट्टाको भाग काटेर हटाउने, खुट्टाको टखुमा भएको भाँचिएको हड्डीको उपचार, हड्डी प्रत्यारोपण, हातको नसामा दबाब कम गर्ने, हड्डी नमिलाई प्लास्टर लगाउने शल्यक्रिया भइरहेको बताए।

त्यस्तै चिरेर नखोली भाँचिएको हड्डी मिलाई तार वा विशेष रडले स्थिर बनाउने, खुम्चिएको छाला वा जोर्नी फुकाल्ने, औँलाको खसिएको वा बाङ्गिएको हड्डी मिलाउने, कुहिनोको खसिएको जोर्नी वा हड्डी मिलाउने, नाडी नजिकको भाँचिएको हड्डी मिलाई प्लास्टर लगाउने, जाँघको हड्डी भाँचिएको अवस्थामा रड वा नेल राखेर उपचार, नाडी वा हातको भाँचिएको तथा खुस्किएको हड्डीलगायत शल्यक्रिया उपलब्ध रहेका छन्।

सीमित स्रोत–साधन, जनशक्ति र उपकरणका बीच पनि १५ शैय्याको जिल्ला अस्पतालले विशेषज्ञ सेवा विस्तारसँगै अस्पतालप्रति नागरिकको विश्वास पनि बढ्दै गएको स्थानीय सन्तोष विकले बताए। यद्यपि विशेषज्ञ चिकित्सकको दीर्घकालीन व्यवस्थापन, आधुनिक उपकरणको उपलब्धता, पर्याप्त बजेट तथा दक्ष जनशक्तिको सुनिश्चितता अझै पनि चुनौतीकै रूपमा रहेको पाइएको छ। स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन प्रदेश र संघीय सरकारको लगानी तथा सहयोग आवश्यक देखिन्छ।

१५ शैय्याको जिल्ला अस्पताल बाजुरालाई सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत ५०शैय्यामा स्तरोन्नति गरिने घोषणा गरेको छ। हाल ५० शैय्याको मापदण्डमा सुविधायुक्त भौतिक संरचना बने पनि १५ शैय्याकै रूपमा सञ्चालन भइरहेको छ। ५० शैय्यामा स्तरोन्नति भएमा सोहीअनुसार विशेषज्ञ चिकित्सकसहित औषधि, उपकरण र बजेटको व्यवस्थापन हुने जिल्ला अस्पतालका प्रमुख डा. हरिश बहादुर मल्लले बताए।

चर्चामा

सम्बन्धित समाचार