
बाजुरा — जिल्ला समन्वय समिति बाजुराले आर्थिक वर्ष २०८२÷०८३ मा सम्पादन गरेका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे समीक्षा गर्दै विकास आयोजनाको प्रभावकारी अनुगमन, स्थानीय तहबीच समन्वय र सुशासनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ ।
जिल्ला समन्वय समिति बाजुराको आयोजनामा सम्पन्न वार्षिक समीक्षा कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख लाछु सार्की प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौला, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समितिका सदस्य, पत्रकार र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रमको सुरु आतमा जिल्ला समन्वय अधिकारी संजय कुमार चौधरीले सहभागीलाई स्वागत गर्दै समीक्षा कार्यक्रमको उद्देश्य तथा वार्षिक गतिविधिबारे जानकारी गराएका थिए। त्यसपछि नायब सुब्बा दीपेन्द्र पाण्डेले आर्थिक वर्ष २०८२÷०८३ मा जिल्ला समन्वय समितिले गरेका अनुगमन, समन्वय, स्थानीय तह र अन्य सारोकारवालाहरुसँगको सहकार्य, संस्थागत गतिविधि तथा समग्र कार्यसम्पादनबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए ।
प्रस्तुतीकरण पछि भएको छलफलमा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले विकास निर्माणका योजना समयमै सम्पन्न गर्न, सार्वजनिक स्रोत–साधनको पारदर्शी उपयोग गर्न तथा स्थानीय तह र सम्बन्धित निकाय बीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । उनले विकासका कामलाई परिणाममुखी बनाउन नियमित अनुगमन र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।
राजनीतिक दलका प्रतिनिधिहरूले विकास योजनाको गुणस्तर, बजेट कार्यान्वयनको प्रभावकारिता, नागरिकमुखी सेवा प्रवाह र सबै पक्षबीच सहकार्यलाई अझ मजबुत बनाउनु पर्ने सुझाव दिएका थिए । उनीहरूले समीक्षा कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी प्राप्त सुझावको कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।
पत्रकारहरूले सार्वजनिक सरोकारका विषयमा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन, अनुगमन प्रतिवेदन समयमै सार्वजनिक गर्न, विकास योजनाको वास्तविक अवस्थाबारे नागरिकलाई नियमित जानकारी गराउन तथा पारदर्शिता अभिवृद्धि गर्न सुझाव दिएका थिए । अन्य सरोकारवालाले पनि विकास निर्माणमा जनसहभागिता, सुशासन र उत्तरदायित्व बढाउन जिल्ला समन्वय समितिले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले समीक्षा कार्यक्रमबाट प्राप्त सुझावहरूलाई आगामी योजना तथा कार्यान्वयन प्रक्रियामा समेटिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले जिल्ला समन्वय समितिले स्थानीय तहबीच समन्वय, विकास आयोजनाको प्रभावकारी अनुगमन, सुशासन प्रवद्र्धन तथा विकासका साझा मुद्दामा सहकार्यलाई अझ सशक्त बनाउँदै लैजाने बताए ।
कार्यक्रममा सहभागी सबै पक्षले विकास निर्माणलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन निरन्तर सहकार्य गर्दै अघि बढ्नुपर्ने साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।


