
बाजुरा— बडीमालिका नगरपालिकाले गरिबी निवारणका लागि सञ्चालन गर्दै आएको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसायीकरण तथा व्यवसायिक परामर्श गोष्ठी एवं भ्रमण अवलोकन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमले स्थानीय उद्यमीहरूको व्यवसायलाई थप व्यवस्थित, दिगो र बजारमुखी बनाउने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरेको हो ।

बडीमालिका नगरपालिकाको उद्योग विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा लघु उद्यमीहरूको उत्पादनको बजारीकरण, व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन तथा उद्यम सञ्चालनका विभिन्न पक्षबारे अन्तरक्रिया गरिएको थियो। सहभागी उद्यमीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका चुनौती, सम्भावना र अनुभवसमेत साझा गरेका थिए ।

कार्यक्रमको अध्यक्षता बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले गरेका थिए । कार्यक्रमका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत जोशीले नगरपालिकाले गरिबी न्यूनीकरणका लागि उद्यमशीलतालाई प्रभावकारी माध्यमका रूपमा अघि बढाइरहेको बताए। उनले भने, “सीप सिकाएर मात्र पुग्दैन, त्यसलाई व्यवसायसँग जोडेर आयआर्जनको स्थायी आधार बनाउन आवश्यक छ । स्थानीय स्रोत, सीप र उत्पादनलाई बजारसँग जोड्न सके स्वरोजगारका अवसर बढ्नुका साथै नगरको आर्थिक गतिविधिमा समेत सकारात्मक परिवर्तन आउँछ । नगरपालिकाले उद्यमीहरूलाई क्षमता विकासदेखि बजारीकरणसम्म आवश्यक सहयोग निरन्तर गर्दै जानेछ ।“

कार्यक्रमका विशिष्ट अतिथि तथा बडीमालिका नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले उद्यमशीलता विकासले स्थानीय आर्थिक समृद्धिको आधार तयार गर्ने उल्लेख गर्दै नगरपालिकाले उद्यमीमैत्री नीति र कार्यक्रमलाई निरन्तरता दिएको बताए । उनले भने, “नगरपालिकाको लक्ष्य केवल तालिम दिने मात्र होइन, तालिमपछि उद्यमीलाई सफल व्यवसायीका रूपमा स्थापित गराउनु पनि हो । उत्पादनको गुणस्तर सुधार, बजारीकरण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा नगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ । यस्ता कार्यक्रमले स्थानीय युवालाई स्वरोजगारतर्फ आकर्षित गर्दै वैदेशिक रोजगारीको विकल्पसमेत सिर्जना गर्न मद्दत पुग्ने विश्वास लिएका छौं।“

कार्यक्रमकै अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेका पाँच जना उद्यमीलाई नगद रु. १ हजारसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको उद्यम शाखा प्रमुख रन्जिता शाहीले बताएकी छन । नगरपालिकाले उत्कृष्ट उद्यमीलाई सम्मान गर्दा अन्य उद्यमीहरूलाई समेत थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रमको सञ्चालन बडीमालिका नगरपालिका उद्योग विकास शाखा प्रमुख रञ्जिता शाहीले गरेकी थिइन् । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, उद्यमी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नगरपालिकाले यस्ता कार्यक्रममार्फत स्थानीय उद्यमलाई प्रवद्र्धन गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना, आयआर्जन अभिवृद्धि र गरिबी न्यूनीकरण गर्न योगदानमा आधारीत कामहरु गर्दै आएको छ ।


