
बाजुरा--बाजुरामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडवृद्धि परीक्षा सदरमुकाम मार्तडीमा मात्रै हुने भएको छ । गत वर्ष कोल्टी, मार्तडी र बुढीगंगा गरी तीन स्थानबाट सञ्चालन भए पनि यसपटक मार्तडीमा मात्रै हुने भएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई बाजुराले परीक्षा केन्द्रहरु सार्वजनिक गर्दै यसपटक जिल्लाभरीका विद्यालयहरुको ग्रेडवृद्धि परीक्षा सदरमुकाममा हुने जानकारी दिएको छ । शिक्षा इकाईका सूचना अधिकारी लालबहादुर बिष्टले केन्द्रको निर्देशनअनुसार सदरमुकाममै ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने जानकारी दिएका छन् ।
गत वर्ष बर्षातमा विद्यार्थीहरुलाई सदरमुकाम पुग्न विभिन्न समस्या हुने गरेको भन्दै सहजताका लागि तीन क्षेत्रमा सञ्चालन गरिएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाईको अनुसार यस वर्ष आगामी असार १ गतेबाट सञ्चालन हुने एसईई ग्रेडवृद्धि परीक्षाका जिल्लाबाट ८०९ जना विद्यार्थी सहभागी हुदैँ छन् । जिल्लाभरका ३८ वटा विद्यालयबाट ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीहरुका लागि सदरमुकाम मार्तडीमा दुई वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । जसमा मालिका मावि (क) र (ख) परीक्षा केन्द्र तोकिएका छन् ।
२०८२ चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई नतिजा करिव एक महिनाभित्रै वैशाख २८ गते सोमबार सार्वजनिक भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार बाजुरामा ६१ दशमलव ९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । साधारण धारतर्फ एक हजार २५१ र प्राविधिक धारतर्फबाट ६५ जना विद्यार्थी उत्तीर्ण भएको हुन् । यस्तै साधारणबाट ७६९ र प्राविधिकबाट ४१ गरी ८१० जना नन ग्रेडमा परेका थिए ।
हेर्नुस् परीक्षा केन्द्र ।



याे पनि पढ्नुहाेस् ।
बाजुरामा एसईई नतिजा सुधारोन्मुख, ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण


