
काठमाडौं – देशका हिमाली भू–भागमा सामान्य बदली रहने तथा अन्य पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने गण्डकी प्रदेशको तराई क्षेत्र तथा बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।


