
नेकपा एमालेको निर्वाचन समितिले पार्टी निकट पत्रकारहरूको संगठन प्रेस चौतारीको अधिवेशन बारे कुनै जानकारी नभएको जनाएको छ । ललितपुरको गोदावरीमा जारी एमालेको दोस्रो विधान अधिवेशनमा प्रतिवेदन पेश गर्दै निर्वाचन समितिका संयोजक विजय सुब्बाले चौतारीले अधिवेशन गर्दा आयोगसँग कुनै समन्वय नगरेको गुनासो गरेका हुन् ।
सुब्बा नेतृत्वको समितिले अधिवेशनमा प्रस्तुत प्रतिवेदनमा पनि चौतारीको अधिवेशनबारे आयोगलाई कुनै औपचारिक जानकारी नभएको उल्लेख गरिएको छ ।
‘नेकपा एमालेको जनसंगठन प्रेस चौतारी नेपालको १०औं केन्द्रीय महाधिवेशन, २०८१ चैत १०-१२, विराटनगरमा सम्पन्न भएको भएता पनि आयोजक कमिटीले उक्त अधिवेशनको सहजीकरण वा निर्वाचन सम्पन्न गर्नका लागि कुनै पत्र केन्द्रीय निर्वाचन आयोगमा प्राप्त हुन नआएको,’ प्रतिवेदनमा उल्लेख छ ।
आयोगको प्रतिवेदनमा रिटर्नी फेडेरेसन नेपालको दोस्रो महाधिवेशनमा पनि निर्वाचनको मनोनयन कार्य नहुँदै अध्यक्ष मण्डलले कमिटीको नाम बन्दसत्रमा घोषणा गरेको उल्लेख छ । फेडेरेसनको अधिवेशन १५ र १६ चैत २०८१ मा काठमाडौंमा सम्पन्न भएको थियो ।
