शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

  • सोमवार, भदौ १६, २०८२
अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु नाङ्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा थियो। ८ किलोमिटर गहिराइमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइतेको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बीबीसीलाई बताएका छन् । तालिबान सरकारका स्रोतहरूका अनुसार दर्जनौँ घरहरू भत्किएको र मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।

दूरदराजका हिमाली क्षेत्रमा पुगेका पहिरो र बाढीका कारण धेरै ठाउँमा भौतिक पहुँच अवरुद्ध भएकाले तालिबान सरकारले मानवतावादी संस्थाहरुलाई उद्धारमा सहयोग गर्न आग्रह गरेको छ । केही क्षेत्रहरूमा केवल हवाई मार्गबाट मात्र पुग्न सकिने बताइएको छ ।

भूकम्पको धक्का राजधानी काबुलदेखि करिब ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो ।

अफगानिस्तान भारतीय र यूरेसियन प्लेटहरू भेटिने भूकम्पीय फल्टलाइनमा अवस्थित भएकाले त्यहाँ बारम्बार भूकम्प आउने गर्दछ । सन् २०२२ मा पूर्वी अफगानिस्तानमा गएको ५.९ म्याग्निच्यूडको भूकम्पमा कम्तीमा १,००० जनाको मृत्यु र ३,००० भन्दा बढी घाइते भएका थिए, जुन दुई दशकयताकै सबैभन्दा घातक विपत्ति थियो ।

चर्चामा

सम्बन्धित समाचार