शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • शिक्षा
  • राजनीतिक दलमा लागे शिक्षक पदमुक्त हुने

राजनीतिक दलमा लागे शिक्षक पदमुक्त हुने

  • सोमवार, जेष्ठ ६, २०८२
राजनीतिक दलमा लागे शिक्षक पदमुक्त हुने

सामुदायिक विद्यालयका शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्य लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा, राजनीतिक गतिविधिमा भाग लिएमा पदमुक्त गर्न सकिने कानुनमा सत्तारूढ र प्रतिपक्षी सांसद एकमत भएका छन् । विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल टुंगो लगाउँदै संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिले तयार पारिएको प्रतिवेदनमा यस्तो व्यवस्था गरिएको हो ।

उपसमितिका संयोजक तथा सांसद छविलाल विश्वकर्माले आइतबार समिति सभापति अम्मरबहादुर थापालाई प्रतिवेदन बुझाएका छन् । निजी विद्यालय र प्रारम्भिक बाल विकास (ईसीडी) कक्षा सञ्चालनबाहेकका विषयमा उपसमितिमा सहमति जुटेको छ । सहमति हुन बाँकी विषय समितिबाटै टुंगो लगाउने विश्वकर्माले बताए ।

शिक्षक महासंघ र विद्यालय व्यवस्थापन संघका सदस्यलाई काज र अन्य सुविधा नदिने व्यवस्था कानुनमा राख्न उपसमितिका सांसदले प्रस्ताव गरेका छन् । अहिले महासंघका पदाधिकारीले काज सुविधा लिँदै आएका छन् । शिक्षकको कार्यसम्पादन मूल्यांकन अध्यापन गराएका विषयमा विद्यार्थीले प्राप्त गरेका सिकाइ उपलब्धिको समेत मापनबाट गरिने भएको छ ।
 

चर्चामा

सम्बन्धित समाचार