
विराटनगर —नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले देश संयन्त्रले नभइकन सरकारले चलाउनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलान खोजिरहेको उनको आरोप छ।
‘देश सरकारले चलाउने हो। संयन्त्रले हैन। तर, यहाँ संयन्त्रमार्फत प्रधानमन्त्रीले चलाउन खोजेजस्तो देखिन्छ,’ विराटनगरस्थित कोइराला निवासमा बुधबार बिहान नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले भने। उनी भन्छन्, ‘‘डेमोक्रेटिक सिस्टम’मा संयन्त्रले देश चलाउने नभइ सरकारले चलाउने हो। संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्री। यो गलत हो। बिलकुल गलत हो।’
नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन सरकार बनेपछि दुई दलले सरकार सञ्चालनका लागि भनेर संयुक्त संयन्त्र बनाएका छन्। प्रदेश तहमा पनि संयन्त्र छन्। ती संयन्त्रले सरकार सञ्चालनमा सहजीकरण गर्ने भनिएको छ। कोशीमा बनेको संयन्त्रले केही दिनअघि सरकारलाई बजेट पुनरावलोकन गर्न निर्देशन दिएको थियो। तर, बजेट पुनरावलोकन नहुने भएको छ।
दुई दलले वडा तहसम्म संयन्त्र बनाएर काम गर्ने सहमति गरेका छन्। डाक्टर कोइरालाले संयन्त्र बनाउने काम गलत भएको टिप्पणी गरे। ‘२०५१ सालमा एमालेको सरकार थियो। त्यो बेला सचिवको कोठामा एक जना एमालेको आधिकारिक व्यक्ति बस्नु हुन्थ्यो। हामीजस्तो मान्छे जाँदाखेरी उहाँको के काम छ ? भन्दै सोध्नुहुन्थ्यो। फेरि संयन्त्रले त्यही गर्न खोजिरहेको छ,’ उनले भने। संयन्त्र कम्युनिस्ट मुलुकमा मात्रै हुने उनको जिकिर छ।
