भारतीय राज्य उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सबै नेपाली मजदुरहरू हुन् । उत्तराखण्डको रुद्र प्रयाग क्षेत्रमा भएको पहिरोमा गरेर उनीहरूको ज्यान गएको हो ।
मृत्यु हुने चार जना नेपाली मजदुर मध्ये तीन जना चितवनका माडी घर भएका खुलेको छ ।
माडीका नगरप्रमुख ताराकुमारी काजी महतोका अनुसार मृत्यु भएका मध्ये ३ जना मजदुर माडी २ सितलपुरका ५८ वर्षका तुलबहादुर परियार, माडी-१ भङ्गहाका २६ वर्षका कृष्णबहादुर परियार र माडी ५ छर्छरे घर भएका २८ वर्षका पूर्णबहादुर नेपाली रहेका छन् ।
उनीहरु तीनै जना सडक मजदुरको रुपमा काम गर्न भारत आउनेजाने गर्थे । पहिरोमा परेका तुलबहादुर परियारका दाजु बाबुराम परियारले सडक बनाउने मजदुरी गर्ने काममा भाइ भारत गएका जानकारी दिए ।
उनका अनुसार सडक छेउमा त्रिपाल टाँगेर सुतेका चारै जना मजदुरलाई राती ११ बजे आएको पहिरोले पुरेको हो ।
दाजु परियारले भाइ दसैँमा घर आउने तयारी गरेपनि काम गर्ने सडकमा नै मृत्यु भएको जानकारी दिए ।
माडी नगरपापलिकाका प्रमुख महतोका अनुसार मृतक सबैको शव काम गरेको कम्पनीले नै पठाउन लागेको आफन्तले जानकारी दिएका छन् ।
पछिल्लो ६ महिनादेखि सडक निर्माण मजदुरका रुपमा गढ्वाल क्षेत्रमा कार्यरत उनीहरु बुधबार पहिरोमा परेका थिए ।
मृतकका शवहरू हाल पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको र आगामी ३ दिनपछि माडी ल्याउने मृतकका परिवारले जनाएका छन् ।
भारी वर्षाको कारणले नेपालीहरू पहिरोमा परेको भारतीय अखबार नवभारत टाइम्सले उल्लेख गरेको छ ।
हिजो राती १ः २० मा भएको घटनामा परेर नेपालीहरूको ज्यान गएको नवभारत टाइम्सले उल्लेख गरेको छ । तर, ज्यान जानेहरू को को थिए र उनीहरूको नेपाल घर कहाँ हो भन्नेबारेमा भने समाचारमा केहि उल्लेख गरिएको छैन ।