• होमपेज
  • समाचार
  • सञ्चालन अनुमति नपाएसम्म धनगढीका दुबै अस्पताल बन्द गर्न निर्देशन

सञ्चालन अनुमति नपाएसम्म धनगढीका दुबै अस्पताल बन्द गर्न निर्देशन

  • बिहिबार, भदौ २८, २०८०
सञ्चालन अनुमति नपाएसम्म धनगढीका दुबै अस्पताल बन्द गर्न निर्देशन

धनगढी– जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा सञ्चालन भइरहेका तर अनुमति नलिएका दुईवटा अस्पताल बन्द गर्न निर्देशन दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको यज्ञराज जोशी नेतृत्वको अनुगमन टोलीले मंगलबार धनगढी उपमहानगरपालिका–३ सहिद गेटमा सञ्चालित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र धनगढी उपमहानगरपालिका–५ राष्ट्र बैंक चोकमा सञ्चालित सञ्जीवनी अस्पताल प्रालिलाई सञ्चालन अनुमति नपाएसम्मका लागि तत्काल बन्द गर्न निर्देशन दिएको हो।

दुवै अस्पतालले कुनै पनि सरकारी निकायबाट सञ्चालन अनुमति नलिएको सहायक प्रजिअ जोशीले बताए। स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा दुई साताअघि एक बिरामीको पत्थरीको अप्रेसनका क्रममा मिर्गौला नै झिकेपछि मृत्यु भएको थियो। यता स्थानीयले दर्ता भएर पनि नवीकरण नभएका अस्पतालहरूको पनि प्रशासनले अनुगमन गर्नुपर्नेमा जोड दिएका छन्।

१५ शैय्याको अस्पताल सञ्चालनका लागि स्थानीय तह, २५ देखि एक सय शैय्या संख्याको अस्पताल सञ्चालन गर्न प्रदेश स्वास्थ्य निर्देशनालय, एक सयदेखि दुई सय शैय्या सञ्चालनका लागि सामाजिक विकास मन्त्रालय र दुई सयभन्दा माथिको अस्पताल सञ्चालन गर्नुपरे संघबाट अनुमति लिनुपर्ने प्रावधान छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक, स्वास्थ्य निर्देशनालय दिपायल (सम्पर्क कार्यालय) धनगढी, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, स्वास्थ्य कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाका कर्मचारी सम्मिलित टोलीले हिजो (मंगलबार) गरेको संयुक्त अनुगमनमा अनुमति नलिई सञ्चालनमा रहेका दबै अस्पताललाई तत्काल बन्द गर्न निर्देशन नै जारी गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार