• होमपेज
  • समाचार
  • पश्‍चिमी सेती आयोजना भारतलाई दिने प्रधानमन्त्रीको अभिव्यक्ति कूतर्क : भीम रावल

पश्‍चिमी सेती आयोजना भारतलाई दिने प्रधानमन्त्रीको अभिव्यक्ति कूतर्क : भीम रावल

  • बिहिबार, जेष्ठ ५, २०७९
पश्‍चिमी सेती आयोजना भारतलाई दिने प्रधानमन्त्रीको अभिव्यक्ति कूतर्क : भीम रावल

काठमाडौं — सांसद भीमबहादुर रावलले नेपालका महत्वपूर्ण रणनीतिक नदीनाला विदेशीको हातमा सुम्पिने कुरा मान्य नहुने बताएका छन् ।

बिहीबार संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै नेता रावलले पश्चिम सेती जलविद्युत आयोजना भारतलाई दिने भन्ने प्रधानमन्त्री देउवाको भनाइ कूतर्क भएको बताए।

‘नेपालको सार्वभौमसत्तामा आधारित आत्मनिर्णयको अधिकारको धज्जी उडाउँदै हालै प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरा जिल्लाको चुनावी सभामा भारत सरकारले चीनको लगानीमा उत्पादित जलविद्युत नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती जलविद्युत आयोजना भारतलाई सुम्पिनुपर्ने कूतर्क सार्वजनिक रुपमा गर्नु भएको छ ,’ उनले भने,’ त्यसोभए नेपालको उर्जा उत्पादन नेपालले स्वतन्त्र राष्ट्रका रुपमा गर्न नसक्ने भयो त ?’

उनले पश्चिम सेतीका साथै सरकारले अरुण चौथो जलविद्युत योजना निर्माण गर्न भारतसँग सेयर बिक्री गर्ने निर्णय राष्ट्रिय हितविपरितको कार्य रहेको बताए।

नेता रावलले भने,’ एकातर्फ देशले भारतीय उर्जा प्रति युनिट ३२ रुपैयाँ खर्च गरी किन्ने, वार्षिक ८०० मेगावाटसम्म भारतीय विद्युत उर्जा आयात गर्ने, अर्कोतर्फ देशमा विद्युत बढी भएको हल्ला फिजाएर नेपालको रणनीतिक महत्वका नदीनाला विदेशीको हातमा सुम्पिने नीतिमा परिवर्तन गर्ने कुरा प्रस्तुत नीति तथा कार्यक्रममा कहि कतै पनि भेटिएन ।’

रावलले अर्थतन्त्रमा गम्भीर समस्या आउँदा पनि सरकार संवेदनशिल नभएको बताए । उनले भने, ‘विदेशी मुद्राको सञ्‍चिती घट्दो छ । नेपाली व्यक्तिको प्रतिव्यक्ति ऋण ६० हजार रुपैयाँ छ । तर, सरकारसँग अर्थतन्त्रलाई सुरक्षित गर्ने कुनै योजना छैन । ‘

सिमित व्यक्तिको हातमा नेपालको वित्तिय प्रणाली गइरहेको बताए । उनले जनशक्तिको स्वदेशमै परिचालन गर्न के सरकार तयार छ ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘स्वदेशी लगानीलाई प्राथमिकता दिने बजेट आउन आवश्यक छ । कृषि उत्पादन र कृषि उत्पादकत्व बढाउने नीति पनि प्राथमिकतामा परेन । ‘

शिक्षामा वर्गीय विभाजन रोक्न सरकारले ध्यान नदिएको उनले आरोप लगाए। अन्नपुर्णपाेष्टबाट साभार । 

चर्चामा

सम्बन्धित समाचार