दुर्लभवन्य जन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जना दाङमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ का ३२ वर्षीय रामबहादुर थापा, लुङ्ग्री गाउँपालिका वडा नं. ३ का २० वर्षीय रूपक खड्का र सुनछहरी गाउँपालिका वडा नं. ७ का १९ वर्षीय रामकुमार पुन मगर रहेका छन्।
दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार शुक्रबार बेलुकी ७ बजेतिर जिल्लाको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ-प्यूठान सडक खण्डमा चेकजाँचका क्रममा रेडपाण्डाको छालासहित उनीहरूलाई पक्राउ गरिएको हो।
हिमाली जिल्लाहरूबाट प्रतिबन्धित र दुर्लभ वन्यजन्तुको छाला निकासी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा चेकजाँचमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको काफ्लेले बताए। प्रहरीका अनुसार उनीहरूले रेडपाण्डको छाला दाङ हुँदै काठमाडौं लैजान खोजेका थिए।