
बाजुरा–सालिग्राम बाल स्याहार गृह कन्सर्न बाजुराका विपन्न सहाराविहीन बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग भएको छ। बुढीगंगा नगरपालिका २ स्थित कन्सर्न बाजुरामा रहेका विपन्न बेसहारा बालबालिकाहरुलाई मेची महाकाली समाज एसोसिएसन भारतले सामग्री सहयोग गरेको हो ।
मेची महाकाली समाज एसोसिएसन संस्थाका अध्यक्ष प्रेम सिंह सहितको टोली बाजुरामै पुगेर सोमबार सामग्री हस्तान्तरण गरिएको छ । अध्यक्ष सिंहले बाजुरा लगायतका विभिन्न स्थानमा घर भई हाल छिमेकी देश भातरमा रोजगारी गरी रहेका व्यक्तिहरुद्धारा गठित मेची महाकाली समाजबाट विगत देखि नै सामाजिक कार्यहरु गर्दै आएको बताए । संस्थाका सदस्य तथा अन्य व्यक्ति गरी ५१ जना बढीको सहयोगमा विपन्न बालबालिकाहरुको पढाईमा सानो सहयोग पुगोस् भन्ने उदेश्यका साथ सहयोगका लागि यहाँ पुगेको बताए । उनकाअनुसार कन्सर्नमा रहेका १८ जना बालबालिकाहरुका लागि स्कुल ड्रेस, कापी कलम लगायतका सामग्री सहयोग गरिएको छ ।
यस्तै कन्सर्न बाजुराका व्यवस्थापक बहादुर थापाले सहारा विहीन बालबालिकाहरुका लागि सहारा बनेर सहयोगका लागि यहाँ पुग्ने तथा सहयोग जुटाउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । सहारा विहीन बालबालिकाको सुनिश्चित भविष्यका लागि सहयोगी संस्था भगवान् बनेको भन्दै आगामी दिनहरुमा समेत आपसी समन्वयमा थप सहयोगको अपेक्षा रहेको विश्वास व्यक्त गरे ।
कन्सर्न बाजुराले लामो समयदेखि जिल्लाका विभिन्न स्थानीय तहका विपन्न सहारा विहीन अनाथ बालबालिकाहरुको पालन पोषण तथा शिक्षादिक्षा र स्याहार गर्दै आएको छ । ‘कोही नहुनेहरूको पनि कोही हुन्छन्’ भन्नेहरूले त सधैँ यस्तै भन्छन् तर,सबैले कोही नहुनेहरूको आफू हुने जिम्मेवारी पुरा गर्न सक्दैनन् । कन्सर्न बाजुराका अध्यक्ष गणेश थापा यतिखेर बुवा नहुनेहरूको बुवा भएर, आमा नहुनेहरूको आमा भएर र बुवा आमा दुवै नहुनेहरूको दुवै भएर बेसहारा बालबालिकाहरूको सहारा बनिरहेका छन् । २०७२ सालमा स्थापना भएको संस्था कन्सर्न बाजुराले आमा–बुबा नभएका बालबालिकालाई सहयोग तथा उनीहरुलाई स्याहार गरिरहेको छ ।


