
धनगढी– सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।
पहिलो बैठक १७ बैशाखमा बस्नेगरी सभाको बजेट अधिवेशन आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
उनका अनुसार प्रदेश प्रमुुखले सरकारको मन्त्रिपरिषद्को बैठकले शुक्रबार गरेको सिफारिसका आधारमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन् ।
यो प्रदेश सभाको आठौँ अधिवेशन हो । प्रदेश प्रमुखको अधिवेशन आह्वान सम्बन्धी पत्र प्राप्त भएपछि सचिवालयले सांसदहरुलाई १७ वैशाखको दिउँसो ४ बजे बैठक बस्ने जानकारी गराएको छ ।


