
बाजुरा–बाजुराको बडीमालिका नगरपालिकामा शिक्षा क्षेत्रमा लगानीका लागि सरोकारवाला निकायसँग संवाद कार्यकम गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२६ को अवसरमा नगरपालिकामा उक्त कार्यक्रम गरिएको हो ।
सबैका लागि निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न, शिक्षामा बजेट वृद्धि गराउन, समावेशी तथा समानतामूलक शिक्षा प्रवद्र्धन गर्न र सीमान्तकृत समुदायका बालबालिकाको पहुँच वृद्धि गर्ने उदेश्यका साथ एनसीइ नेपालले हरेक बर्ष विश्वव्यापी कार्य सप्ताह गर्दै आएको छ ।
शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै समतामूलक र समावेशी शिक्षामा पहुँच अभिवृद्धि गर्न बडीमालिकामा स्थानीय सरकार र सरोकारवाला निकायसँग संवाद कार्यक्रम एनसीइ नेपाल बाजुराका अध्यक्ष मदनराज जैशीले बताएका छन् ।
कार्यक्रममा नगरपािलकाका गैरसरकारी संस्था फोकल पर्सन कृष्ण खड्काले पालिकाको शैक्षिक अवस्था एवम् भावी योजना र रणनीतिका बारेमा प्रस्तुतीकरण गरेका थिए । नगरपालिकाको तथ्यांकअनुसार कक्षा ८ को सिकाइ उपलब्धि ६८ प्रतिशत रहेको उल्लेख गरिएको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने तथा शैक्षिक गुणस्तर सुधारका लागि १० बर्षे शिक्षा योजना निर्माण, विद्यालय समायोजन तथा तह घटाउने, विद्यालय बाहिर रहेका बालबालिका शून्यमा झार्ने अभियान, नियमित अनुगमन निरीक्षण गर्ने जस्ता कार्यदिशा तय गरिएको नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् । त्यस्तै आगामी बर्षको नीति तथा कार्यक्रममार्फत शिक्षक तथा विद्यार्थी ई हाजिरी प्रणाली लागू गर्ने, विद्यालय सुधार योजना अनिवार्य, आइसीटीमा आधारित शिक्षण विस्तार, पढ्दै कमाउँदै कार्यक्रमलाई डिजिटल तथा जेनजी युवा उद्यमी कार्यक्रम सञ्चालन लगायतका कार्यक्रम अघि सारेको उनले बताए । यस्तै नगर प्रमुख खड्काले पालिकाले गरेको अनुगमनलाई मात्रै अनुगमन मान्ने प्रवृति आम जनमानसमा कमजोरी रहेको भन्दै यस क्षेत्रमा देखिएका समस्या र कमजोरीलाई वास्तविक चित्रलाई सुझावको रुपमा प्रतिक्रिया दिन सबैलाई आग्रह समेत गरेका छन् । उनले भने, “हरेक क्षेत्रमा ढिलासुस्ती भइरहेको छ, सबैले आ-आफनो तहबाट जवाफदेहिता हुनुपर्छ, अहिलेको बुझाई जो पदमा छ त्यसैमाथि खनिने र आफ्ना कमी कमजोरी नसच्याउने प्रवृतिले समाज नकरात्मकतातर्फ गइरहेको छ, यसमा सबैले सजग र उत्तरदायी हुनु पर्ने छ ।”
यस्तै कार्यक्रममा सहभागी गैसरकारी संस्थाका प्रतिनिधिहरुले शैक्षिक गुणस्तर सुधारका लागि निश्चित लक्ष्यका साथ वस्तुपरक योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्न सक्ने गरी प्रभावकारी रुपमा लाग्नु पर्नेमा जोड दिएका छन् ।
एनसीइ नेपाल बाजुराका अध्यक्ष मदनराज जैशीको अध्यक्षतामा सञ्चालन भएको संवाद कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अमरबहादुर खड्का रहेका थिए । त्यस्तै कार्यक्रममा नगर उपप्रमुख नन्दा थापा, वडा अध्यक्ष विभिन्न शाखाका कर्मचारी, गैसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।


