
बाजुरा — बाजुरा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वैशाख ८ गतेबाट सञ्चालन हुने भएको छ । सोमबार जिल्ला खेलकुद समितिले सूचना जारी गर्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने जनाएको हो ।
यस बर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ वैशाख ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने जिल्ला खेलकुद समितिकी कार्यालय प्रमुख लक्ष्मीदेवि बडुवालले जानकारी दिइन् । खेलकुद समितिको आयोजना तथा बडीमालिका नगरपालिकाको सह -आयोजनामा मार्तडीस्थित मालिका माध्यमिक विद्यालयको खेल मैदानमा हुने उनले बताइन् ।
प्रतियोगितामा जिल्लाभित्रका ९ वटै स्थानीय तहका विद्यालयहरूबाट खेलाडीहरु सहभागी हुनेछन् भने छनौट भएका खेलाडीहरुले वैशाख ५ गतेभित्र आवश्यक कागजातसहित जिल्ला खेलकुद समितिमा दर्ता गर्न अनुरोध समेत गरिएको छ ।
त्यस्तै, प्रतियोगितामा सहभागी खेलाडीहरूलाई वैशाख ८ गते बिहान १० बजे खेलमैदानमा पालिकाको व्यानर, झण्डा, खेल पोशाकसहित मार्चपासमा उपस्थित हुन पनि आग्रह गरिएको छ ।


