बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सार्वजनिक यातायातको भाडा बढ्यो, बाजुरा—काठमाडौं ५ हजार बढी

सार्वजनिक यातायातको भाडा बढ्यो, बाजुरा—काठमाडौं ५ हजार बढी

  • बिहिबार, चैत्र २६, २०८२
सेयर गर्नुहोस् :
सार्वजनिक यातायातको भाडा बढ्यो, बाजुरा—काठमाडौं  ५ हजार बढी

बाजुरा– सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । इन्धनको मूल्य वृद्धि भएपछि विभागले सार्वजनिक यातायातको भाडादर पनि बढाएको हो । बाजुराबाट संघीय राजधानी काठमाडौं सम्मको सडक दूरी ९४४.६ किलोमिटर छ । भाडादर बढेसँगै अब बाजुराबाट काठमाडौंसम्म पुग्न कम्तीमा ३ हजार ६५६ रुपैयाँ देखि ५ हजार २६४ रुपैयाँसम्म बस भाडा लाग्ने भएको छ । बुधवार सरकारले बढाएको भाडादरअनुसार बाजुरा— काठमाडौं भाडा नर्मल ३६५६, डिलक्स ४३८७ र सुपर डिलक्सको ५२६४ रुपैयाँ कायम भएको छ । यसअघि २०८१ पुस २२ मा कायम गरिएको भाडार नर्मल ३१३२ रुपैयाँ, डिलक्स ३७५९ रुपैयाँ र सुपर डिलक्सको ४५१० रुपैयाँ बस भाडा थियो ।

बस काउन्टर मार्तडीकाअनुसार यसअघि बाजुरा देखि काठमाडौं बस भाडा ४५५० रुपैयाँ थियो तर अब झन भाडादर वृद्धि भएसँगै ५१०० रुपैयाँ बस भाडा लाग्ने जनाएको छ । बाजुराबाट काठमाडौंसम्म नियमित एसी बस सञ्चालनमा रहेका छन् । त्यस्तै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीअन्तर्गत समायोजन गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । भाडादर वृद्धि गरेर नयाँ कायम गरिएको भाडादर बुधवारबाट लागू भएको छ ।

विभागका अनुसार डिजेलको बजार मूल्यमा भएको वृद्धि तथा अन्य १३ वटा सूचकहरूको विश्लेषणका आधारमा भाडा समायोजन गरिएको हो । अब यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा हुने सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको विभागले जनाएको छ । बढेको भाडा दर अन्तरप्रदेशीय गन्तव्यका लागि मात्रै हो । एक प्रदेशभित्रको भाडा दर भने प्रदेश सरकारले तोक्नुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार