
अछाम– पत्रकारितामा पत्रकारहरुलाई आधुनिक प्रविधिमा सक्षम र अभ्यास्त बनाउने उद्देश्यले अछामको मंगलसेनमा दुई दिने “एआई, मल्टिमिडिया तथा मोबाइल पत्रकारिता” सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा पत्रकार महासंघ जिल्ला शाखा अछामको समन्वयमा प्रशिक्षण तालिम सुरु भएको हो।
अछामको सदरमुकाम मंगलसेनमा मंगलबारबाट सुरु भएको प्रशिक्षणमा अछामसहित बाजुरा र डोटीका पत्रकारहरुको सहभागीता रहेको छ । तालिममा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, मोबाइलबाट मल्टिमिडिया प्रभावकारी सामग्री निर्माण, डिजिटल प्लेटफर्ममा सामग्री सम्पादन तथा प्रकाशनलगायत विषयमा सहजीकरण भईरहेको छ । बुधबारसम्म सञ्चालन हुने दुई दिने तालिमको सहजीकरण प्रशिक्षक विकास कार्कीले गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशभरका पत्रकारहरूलाई अहिलेको आधुनिक प्रविधिसँग अद्यावधिक गराउँदै गुणस्तरीय र प्रभावकारी सामग्री उत्पादनमा सक्षम बनाउने उदेश्यका साथ तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ प्रदेश समिति अध्यक्ष भरत शाहले बताएका छन् । प्रदेशका पहाडी जिल्लाका पत्रकारहरुलाई यस्ता हरेक कार्यक्रममा सहभागी हुन धनगढीसम्म पुग्न विभिन्न समस्या हुने गरेको भन्दै जिल्लामै पुगेर सीपमूलक तालिमको आयोजना गरिएको भन्दै समयको सही सदुपयोग गर्न सहभागी पत्रकारहरुलाई आग्रह समेत गरेका छन् ।
यस्तै पञ्चदेवल बिनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले अहिलेको समयममा आधुनिक प्रविधिको प्रयोगबाट छिाटोछरितो रुपमा सूचना सामग्री सम्प्रेषण भइरहेको भन्दै यसलाई व्यवस्थित, मर्यादित र अझै सकारात्मक बनाउन यो तालिमले पहाडी जिल्लाका पत्रकारहरुका लागि सिक्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
त्यस्तै कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले समय सान्दर्भिक र आधुनिक प्रविधिमा आधारित यस्ता तालिमले पत्रकारहरुलाई सीपयुक्त बनाउँदै व्यवसायीक पत्रकारितामा महत्वपूर्ण सहयोग गर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष भरत शाहको अध्यक्षतामा सञ्चालन भएको औपचारिक उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पञ्चदेवल बिनायक नगरपालिकाकी प्रमुख अम्बिका चलाउने रहेकी थिइन् । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, बान्निगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावल, सुरक्षा निकायका प्रतिनिधि लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


