बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा पाँच बर्षमा क्षयरोगबाट १८ जनाको मृत्यु

बाजुरामा पाँच बर्षमा क्षयरोगबाट १८ जनाको मृत्यु

  • मङ्लबार, चैत्र १०, २०८२
सेयर गर्नुहोस् :
बाजुरामा पाँच बर्षमा क्षयरोगबाट १८ जनाको मृत्यु

बाजुरा—बाजुरामा पाँच बर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु भएको छ । मंगलबार विश्व क्षयरोग दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत स्वास्थ्य कार्यालय बाजुराले सो अवधिमा १८ जनाको मृत्यु भएको जनाएको हो ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक बर्ष २०७७/७८ मा एक, ०७८/७९ मा ३, ०७९/८० मा २, ०८०/८१ मा ६, ०८१/८२ मा ४ र ०८२/८३ को फागुन मसान्तसम्म २ जनाको क्षयरोगका कारण मृत्यु भएको उल्लेख छ । त्यस्तै गत आर्थिक बर्ष २०८१/८२ मा जिल्लामा ३१० जनामा क्षयरोग पत्ता लक्ष्य लिएकोमा १४१ जनामा क्षयरोग देखिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कुमार न्यौपानेले बताए । उनकाअनुसार जिल्लामा हालसम्म क्षयरोगबाट संक्रमित ८१ जनाले नियमित औषधि खाइरहेका छन् । जिल्लाका ९ वटा स्थानीय तहमध्ये बडीमालिका नगरपालिका उच्च क्षयरोगी दर भएको पालिकामा रहेको तथ्यांकले देखाएको छ । जहाँ प्रतिलाख २१९ जनामा क्षयरोग देखिएको जनाएको छ ।

त्यसैगरी हरेक बर्ष मार्च २४ का दिन मनाइने विश्व क्षयरोग दिवस जिल्लामा अन्तरक्रियात्मक कार्यक्रम गरी मनाइएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा जिल्ला अस्पतालमा एक औपचारिक कार्यक्रम गरी दिवस मनाइएको छ ।

कार्यक्रममा सहभागीहरुले क्षयरोग उन्मूलन गर्न तथ्यांकभन्दा पनि समुदाय स्तरमा क्षयरोग चेकजाँच तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिएका छन् । रहेक पालिकाका ग्रामिण स्तरमा पुगेर अनुसन्धानमूलक अध्ययन तथा यसको क्षेत्रमा परिमाणमुखी नतिजा देखिने गरी काम गर्नु पर्ने उनीहरुले सुझाव दिएका छन् । जिल्ला अस्पतालका प्रमुख समेत रहेका डाक्टर चन्द्रशेखर यादवले क्षयरोगलाई दिवसका रुपमा मात्रै नलिई नियमित रुपमा गम्भिर भएर प्रभावकारी रुपमा कार्यक्रम गरेर यसको उन्मूलनका लागि सबैले आ–आफ्‌नो क्षेत्रबाट दायित्व निर्वाह गर्नु पर्नेमा जोड दिए ।

क्षयरोग अर्थात् टिबी ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । विशेषगरी, कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई सजिलै आक्रमण गर्न सक्ने यो क्षयरोगका किटाणु जो सुकैको शरीरमा रहेको हुन्छ । क्षयरोगलाई रोकथाम तथा उपचार गर्न सकिने भए पनि यो रोग प्रमुख जनस्वास्थ्य समस्याहरूमध्ये एक जटिल समस्या हो । क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाछियु गर्दा, थुक्दा यसका जीवाणुहरू निस्कन्छन् र हावाको माध्यमबाट अरू निरोगी व्यक्तिहरूमा समेत सर्ने गर्दछन् । क्षयरोगका जीवाणुले शरीरको फोक्सोमा बढी असर गर्दछ तर जीवाणुले शरीरका अन्य अंगमा पनि असर गर्न सक्दछ ।

यो रोग लाग्दा लामो समय सम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुका साथै तौल पनि कम हुँदै जाने लक्षण देखा पर्दछन् । समयमै रोगको पहिचान हुन सकेमा औषधी सेवनबाट यो रोग निको चिकित्सकहरूको भनाइ छ । बद्लिदो जीवनशैली तथा गलत खानपानका कारण पनि अहिले नेपाली समाजमा क्षयरोग रोग ठूलो चुनौतीको रुपमा देखा परेको छ । त्यसैले, यसलाई नियन्त्रण गर्नको लागि समयमै रोगको पहिचान आवश्यक छ ।

नेपालमा क्षयरोगीहरुलाई मध्यनजर गर्दै सरकारले क्षयरोगीहरुलाई निशुल्क औषधी वितरण गर्दै आएको छ । तर अस्पतालसम्म पहुँच नपुग्दा, भौगोलिक विकटता तथा मानिसहरु क्षयरोग केन्द्रमा जान हिच्किचाउने गर्नाले पनि मानिसहरुले सुचीकृत स्वास्थ्य संस्थाहरुबाट त्यो सुविधा पर्याप्त मात्रा लिन सकेका छैनन् ।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार