
बाजुरा— बाजुराको बुढीनन्दा नगरपालिका–४ सिमकुरुस्थित भावना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री सहयोग गरिएको छ। बडिमालिका फाउण्डेसनको पहल, बुढीनन्दा नगरपालिकाको समन्वय तथा अमेरिकामा रहेकाे नेपाल राइजिङ नामक संस्थाको आर्थिक सहयोगमा उक्त सामग्री वितरण गरिएको हो।
विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक विद्यालय पोशाक, जुत्ता,माेजा, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको बडिमालिका फाउण्डेसनका अध्यक्ष प्रकाश बहादुर सिंहले बताएका छन। दुर्गम तथा उच्च हिमाली क्षेत्रमा रहेकाे साे बिध्यालयका विद्यार्थीहरूलाई सहयोग पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष सिहले बताए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूको समेत सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता सहयोगले विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाको पढाइमा थप उत्साह मिल्ने विश्वास व्यक्त गरेका थिए। विद्यालयले सहयोग गर्ने संस्थाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको छ।


