बाजुरा—बाजुराको बाउली खोलाको जोखिमपूर्ण बाटोमा बडीमालिका नगरपालिकाले फलामे सिँढी लगाएको छ । बाउली खोला स्थित झोलंगे पुलको मुखैमा रहेको अप्ठ्यारो बाटोमा फलामे सिँढी लगाएको हो ।
यसअघि मार्तडी कोल्टी सडकखण्डको मुख्य बाटोको जीर्ण पक्की सिँढीबाट स्थानीयहरु आवतजावत गर्ने गरेका थिए । जोखिमपूर्ण बाटोमा स्थानीयहरु आवतजावत गर्ने गरेपछि बडीमालिकाले फलामको सिँढी लगाएको छ ।
केही दिनअघि बडीमालिका खबर लगायतका सञ्चार माध्यममा जीर्ण बाटोमा जोखिम मोलेर आवतजावत गर्ने गरेको बिषयमा समाचार प्रकाशित भएका थिए । त्यस्तै बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काले पनि यहीँ असार १५ गते अनुगमन समेत गरेका थिए ।
त्यसको हप्तादिन नपुग्दै नगरपालिकाले आवतजातवतमा सहजता ल्याउन सिँढी लगाएको जनाएको छ ।
पहिले ज्यान जोखिममा राखेर जीर्ण सिँढीबाट हिड्नुपर्ने बाध्यता भएपनि अहिले नयाँ फलामको सिँढी लगाएपछि सहज भएको स्थानीयहरुले बताएका छन् । अहिले बर्षायमको समयमा मार्तडी–कोल्टी सडकखण्ड ठाउँठाउँमा अवरुद्ध भएपछि उक्त बाटोबाटै पैदल यात्रा गरी रहेका छन् ।
नगर प्रमुख अमर बहादुर खड्काले नागरिकहरुलाई आवतजावतमा समस्या भएको भन्दै नगरपालिकाले सिँढी लगाएको बताए । उनले उक्त बाटोमा फलामको सिँढी लगाएपछि आवतजावतमा समेत सहजता हुने बताए ।
सदरमुकाम मार्तडी नजिकै उक्त खोलामा यसअघि सिडीको आडका लागि तल लगाएका ग्याविन जाली समेत भासिएर जोखिमपूर्ण बनेको थियो । उक्त बाटोबाट नागरिकहरु सदरमुकाम मार्तडीबाट बडीमालिका ७ तथा जिल्लाको पूर्वीउत्तरी भेग आवतजावत गर्ने गरेका छन् ।
बाजुराको बाउली खोलामा जोखिमपूर्ण बाटाेमा यात्रा गर्न बाध्य स्थानीय