बाजुरा—बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । शनिवार जिल्ला खोप समन्वय समिति बाजुराको आयोजनामा मार्तडीमा एक समारोहविच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले नियमित खोप दिइने १५ महिना मुनिका र १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको बताए ।
उनका अनुसार जिल्लाका ९ वटै स्थानीय तहका ६९ वडामा घरधुरी सर्वेक्षण गरी बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएको हो । उनले जिल्लाभर कुनै पनि खोप नपाएका १४ जना र छुट बच्चाको संख्या एक सय ३ रहेको बताए । त्यस्तै उनले घरधुरी सर्वेक्षणपछि वडा र ९ वटै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गरिएको जानकारी दिए ।
योसँगै बाजुरा सुदूरपश्चिम प्रदेशको दोस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासहितको जिल्ला बनेको छ ।
१६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, दादुरा–रुवेला, पेन्टा र ओ.पी.भी तथा टाईफाईड विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।
त्यस्तै जिल्ला पूर्ण खोप तथा सुनिश्चितता घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी सहित पालिकाहरुलाई नगद प्रमाणपत्र सहित सम्मान गरिएको छ । सहभागीहरुले बालबालिकालाई खोपको मात्रा पूरा गर्न निरन्तरता दिन र दिगोपना कायम राख्ने भन्दै साझा प्रतिवद्धता बोर्डमा हस्ताक्षर समेत गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले सबैभन्दा पहिले स्वयंसेविकाहरुको अतुलनीय योगदानपछि पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भएको भन्दै अबदेखि यसको दिगोपनामा सबैले झन् सक्रिय रुपमा लाग्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी पाध्याले स्वास्थ्य स्वयंसेविकाहरुको काम अनुसार उचित सेवा सुविधामा पनि राज्यले सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
त्यस्तै जिल्ला खोप समन्वय समिति प्रमुख तुलसीराम रोकायाले स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको महत्वपूर्ण भूमिकापछि पूर्ण खोप सुनिश्चितता घोषणा भएको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।
जिल्ला खोप समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कर्मचारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालयका प्रशान्त जोशीले गरेका थिए ।