• होमपेज
  • बाजुरा बिशेष
  • “विचारमा स्वस्थ प्रतिस्पर्धा, विकासमा बृहत एकता” अभियानमा एमाले बाजुरा

“विचारमा स्वस्थ प्रतिस्पर्धा, विकासमा बृहत एकता” अभियानमा एमाले बाजुरा

  • शनिबार, जेष्ठ ४, २०८२
“विचारमा स्वस्थ प्रतिस्पर्धा, विकासमा बृहत एकता” अभियानमा एमाले बाजुरा

बाजुरा– नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्लाको विकासका लागि “विचारमा स्वस्थ प्रतिस्पर्धा, विकासमा बृहत एकता” अभियान अघि सारेको छ । यहीँ जेठ १ गते सम्पन्न पार्टी जिल्ला कमिटीको जिल्ला प्रतिनिधि परिषद्को प्रथम बैठकले सो अभियान सहितका एजेण्डा तथा समसामयिक प्रस्तावहरु पारित गरेको छ ।

पार्टीले “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा योगदान गर्न जिल्लामा मिसन ०८४ लक्ष्य पूरा गर्ने दायित्वलाई प्राथमिकतामा राखेर बैठकले निर्णय अनुमाेदन गरि सार्वजनिक गरेकाे नेकपा एमाले बाजुराले जनाएको छ । “विचारमा स्वस्थ प्रतिस्पर्धा, विकासमा बृहत एकता” अभियानका साथ एमाले हरेक जनताको अन्तर्मनमा बसाउन, नेता र कार्यकर्ताको कार्य जिम्मेवारीलाई आत्मसाथ गर्दै सशक्त जनता, सचेत नेता, सुदृढ सङ्गठन बनाउन सम्पूर्ण पार्टी सदस्यको सक्रियता बढाउन आवश्यक मात्र नभई अनिवार्य रहेको पार्टी अध्यक्ष लालबहादुर ओलीले सार्वजनिक गरेका निर्णयमा उल्लेख गरिएकाे छ ।

त्यस्तै, शनिवार पत्रकार सम्मेलन मार्फत जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को बैठकले राजनीतिक, आर्थिक, कार्यसम्पादन समिक्षा र जिल्ला कमिटीको लेखा परीक्षण प्रतिवेदनलाई छलफल गरेर पारित गरेको अध्यक्ष ओलीले बताए । सो बैठकबाट बाजुरा जिल्लाको विकास निर्माण कार्यमा सबै राजनीतिक दलहरुको आपसी सहकार्य र एकता आवश्यक रहेको अध्यक्ष ओलीले बताए । उनले राजनीतिक दलहरुबीच छलफल भै सहमतिका आधारमा जिल्लाको समष्टिगत विकास गर्न गौरवका योजना लागू गराउन जिल्ला स्थित सबै राजनीतिक दललाई आव्हान गरिएको बताए ।

त्यस्तै, सामुदायिक विकास, सुशासन, समानता, न्याय र अमनचयन कायम गर्न स्थानीय तह तथा सुरक्षा निकायका अभियानमा सहजीकरण गर्न एमाले बाजुरा प्रतिबद्ध रहेको जनाएको छ । मानव विकास सूचकाङ्कमा बाजुरा ७७ औं स्थानमा रहेको भन्दै जिल्लाको विकासका लागि कर्णाली प्रदेश सरहको सहुलियत प्राप्त गर्ने नीतिगत व्यवस्थाका लागि संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, सो बैठकले बाजुराको शैक्षिक गुणस्तर वर्षेनी कमजोर भैरहेको भन्दै सुधार गर्न आवश्यक लगानी, मानवस्रोत, भौतिक व्यवस्थान गर्न तीन तहका सरकार, शिक्षक, अभिावक लगायत सरोकारवालाहरुको ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको छ । जिल्लामा लागू औषधको कुलतमा युवा समुदाय परिरहेको भन्दै यसको नियन्त्रण गर्न स्थानीय सरकार र प्रशासनका संयुक्त अभियान संचालन गर्न आव्हान गरेको अध्यक्ष ओलीले बताए ।

त्यस्तै, जिल्ला प्रतिनिधि परिषद् बैठकले कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना र जडांगामा रहेको बेलिबृज दानसाँगुमा सार्नका लागि विभिन्न निर्णय सरकारका निकायहरुमा पेश गरिए पनि सुनुवाई नभएकाले कार्यान्वयनको लागि संघीय सरकारसँग माग गरेको छ । त्यस्तै जिल्लामा ठेकेदारहरुको लापरवाहीका कारण धेरै विकास निर्माणका कार्यहरु अलपत्र रहेको भन्दै तत्काल कानुनी ताकेता गरी कार्य सम्पन्न गराउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको निर्णय सार्वजनिक गरिएको छ ।

बडीमालिकाको त्रिवेणी पाटन र हिमाली गाउँपालिकाको रानीसैन जस्ता धार्मिक तथा प्राकृतिक क्षेत्रहरु बाजुरामै पर्ने छिमेकी प्रदेश तथा जिल्लाका सरकारी लगानीमा संरचना निर्माण गरेर सिमाना अतिक्रमण गरी रहेको भन्दै बैठकले केन्द्रीय सरकार र प्रदेश सरकारको ध्यानाकार्षण गराउने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, जिल्ला स्थित सरकारी कार्यालयहरु प्रायः निमित्ति प्रमुखको भरमा चलिरहेकाले कार्यालय प्रमुखहरुको पदपूर्ति सरकारको ध्यानाकर्षण गराउने प्रस्ताव पनि पारित गरेको जनाएको छ । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओलीको अध्यक्षतामा सञ्चालन भएको पत्रकार सम्मेलनमा केन्द्रिय लेखा आयोग समिति सदस्य बसुन्धरा रोकाया, जिल्ला कमिटी सदस्य लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार