सर्लाहीको धनकौल गाउँपालिकाका वडा नम्बर ६ स्थित कृषि बाटो निर्माणमा ७ लाख ७९ हजार २०५ रुपैयाँ हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
अख्तियारले श्याम बाबु साहसहित धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाचौ मोहम्मद रफिक, सब–इन्जिनियर शशिरन्जन कुमार सिंह, लेखापाल अभय कुमार साह र उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह र कोषाध्यक्ष सुरतीया कुमारीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
उनीहरुले आर्थिक वर्ष २०८०/०८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतोमा कामभन्दा बढी खर्च देखाइ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । जनही ७ लाख ७९ हजार रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले तीन महिनादेखि तीन वर्षसम्म कैद सजायको माग गरेको छ ।