काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध उनी प्रतिनिधिसभामा निर्वाचित चितवनमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेसहित १५ व्यक्ति र ६ कम्पनीविरुद्ध मुद्दा दर्ता भएको छ । चितवनमा रविलाई सजिलो हुने गरी मुद्दा दर्ता गरिएको छ । रविलाई सहकारी ठगी मात्रै मुद्दा चलाइँदा अरु १२ जनालाई भने सङ्गठित अपराध कसुर पनि लगाइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि असोज ८ गते दर्ता गरेको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यसबेला रविको नाम किटान गरिएको थिएन ।
मंगलबार दर्ता भएको मुद्दामा रविसहित १५ जना प्रतिवादी छन् । त्यसैगरी गितेन्द्रबाबु राई अध्यक्ष रहेको गोर्खा मिडिया प्रालि र साहरा बचतसहित ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले तयार गरेको अनुसन्धान प्रतिवेदनमा उक्त सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको जनाएकाे छ । सहकारीबाट गोर्खा मिडियासहित विभिन्न कम्पनीमा गएको रकमसहित ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो।
पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट जम्मा २ करोड २५ लाख धरौटी बुझाएर छुटिसकेका छन् ।