आइतवार, असार १४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • उपनिर्वाचन : आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

उपनिर्वाचन : आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

  • शनिबार, चैत्र २४, २०८०
सेयर गर्नुहोस् :
उपनिर्वाचन : आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

काठमाडौं– आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) को प्रदेश सभा सदस्यका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो।

इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा एकै दिन उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार मनोनयनपत्र दर्ता आज बिहान १० देखि ५ बजेसम्म हुने छ। इलाम र बझाङमा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ। आयोगले आज बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन गर्ने जनाएको छ।

इलाम क्षेत्र-२ मा सत्ता साझेदार दल नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ। नेम्वाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ। त्यसैगरी नेपाली कांग्रेसले इलाम–२ मा डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माओवादी परित्याग गरेका मिलन लिम्बू र राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने भएको छ।

यता बझाङको प्रदेशसभा उपनिर्वाचनका लागि कांग्रेसले अभिषेकबहादुर सिंह, एमालेबाट दमन भण्डारी ,नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह उम्मेदवार बन्ने भएका छन्।

आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ। निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने कार्य तालिकाछ।

निर्वाचन आयोगले इलाम–२ मा ७९ मतदानस्थल तथा १४९ मतदान केन्द्र तोकेको छ। बझाङ १ (१) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ।

चर्चामा

सम्बन्धित समाचार