शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा मुख्यमन्त्री चयन गर्न सत्ता गठबन्धनभित्रै उल्झन

सुदूरपश्चिममा मुख्यमन्त्री चयन गर्न सत्ता गठबन्धनभित्रै उल्झन

  • बुधबार, चैत्र २१, २०८०
सुदूरपश्चिममा मुख्यमन्त्री चयन गर्न सत्ता गठबन्धनभित्रै उल्झन

सत्ता गठबन्धनभित्रै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री चयन गर्ने विषय पेचिलो बनेको छ। सुदूरपश्चिममा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीको विवादले सरकार परिवर्तनका लागि बहुमत पुगाउन जटिल देखिएको हो। नागरिक उन्मुक्तिको विवाद चर्किएपछि सोमबार सत्ता गठबन्धन दलले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेका थिए।
५२ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका र स्वतन्त्र १–१ सांसद छन्। बझाङ–१ (१) मा कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको निधन भएकाले हाल कांग्रेसका १७ सांसद छन्। गठबन्धन दलका २५ र एक स्वतन्त्रलाई सरकारमा सहभागी गराई बहुमत पुगाउने कसरत छ।

हाल कांग्रेसका कमलबहादुर शाह प्रदेशका मुख्यमन्त्री छन्। उनले सरकार जोगाउन उन्मुक्तिका ७ मध्ये ५ जनालाई मन्त्री नियुक्त गरिसकेका छन्। सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गर्न बसेको उन्मुक्तिको बैठकमा सोमबार चर्को विवाद भएको थियो। पार्टी संरक्षक रेशमलाल चौधरीले सत्ता गठबन्धनले पार्टीमा भाँजो हालेको आरोप लगाएका छन् भने अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी निर्णयलाई मान्नुपर्ने अडान लिएकी छन्।
चैत १६ मा उन्मुक्ति अध्यक्ष रञ्जिताले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन्। तर उन्मुक्तिले कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएको छैन। नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिँदैछन्।

चर्चामा

सम्बन्धित समाचार