मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • समाज
  • एक सातामा २८ जनालाई कोरोना संक्रमण, सतर्कता अपनाउन आग्रह

एक सातामा २८ जनालाई कोरोना संक्रमण, सतर्कता अपनाउन आग्रह

  • बुधबार, चैत्र २१, २०८०
एक सातामा २८ जनालाई कोरोना संक्रमण, सतर्कता अपनाउन आग्रह

काठमाडौँ — मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौला कोरोना सङ्क्रमित फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताउँछन् ।

‘मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी आउने गरेका छन्,’ उनले भने, ‘तर बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा छैनन् ।’ निर्देशक बसौलाका अनुसार अहिले तीन सङ्क्रमितले सघन उपचार कक्ष (आइसियु) र दुई जनाले श्ययामा उपचार गराइरहेका छन् । अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको उनले बताए ।

मन्त्रालयका प्रवक्ता बुढाथोकीले भारतमा पुस महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ देखिएसँगै नेपालमा पनि कोरोनाका बिरामी देखिएको बताए ।

‘भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट्ट बिरामी देखिएका हुन्,’ उनले भने, ‘तर अहिले भने बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित छैनन् । अहिले मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।’

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएको छ । उनका अनुसार कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार