मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रदेश ३
  • बागमतीमा एमालेका ४ मन्त्रीले लिए शपथ

बागमतीमा एमालेका ४ मन्त्रीले लिए शपथ

  • मङ्लबार, चैत्र २०, २०८०
बागमतीमा एमालेका ४ मन्त्रीले लिए शपथ

हेटाैंडा —बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार एमालेबाट मन्त्री बनेका काठमाडाैंका केशव पाेखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए ।

प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, पोखरेलले वन तथा वातावरण, एकालाल श्रेष्ठले खानेपानी, ऊर्जा तथा सिँचाईं र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रकाशबाहेक अरु तीन जना गत २५ पुसमा शालिकराम जम्कट्टेल मन्त्रिपरिषदकै मन्त्री हुन् ।

रामेश्वर यसअघि पनि स्वास्थ्य मन्त्रालय थिए । पाेखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री र एकालाल श्रम, राेजगार तथा यातायात मन्त्री थिए । एमाले दुई महिना सरकारमा बसेर १० चैत ०७९ मा बाहिरिएकाे थियाे ।

एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा याेजनामन्त्री बनिसकेका छन् ।

चार जना मन्त्रीमध्ये केशव र प्रकाश दाेस्राे पटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् भने रामेश्वर र एकालाल पहिलाे पटक प्रदेशसभामा पुगेका हुन् ।

नेपाली कांग्रेसले छाेडेकाे ६ वटा मन्त्रालयमा एमालेले ५ वटा मन्त्रालय लिएकाे छ । संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा हाम्राे नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य १५ चैतमा नियुक्त भएपछि बाँकी मन्त्रालयमा एमालेले दाबी गरेकाे थियाे ।

नेकपा (एकीकृत समाजवादी)बाट मंगलबार बिहान रमा आले मगरको भने मन्त्रालय तोकिएको छैन । एकीकृत समाजवादीले कांग्रेसले छाडेकामध्ये एउटा आफूहरुले पाउनुपर्ने माग गरेको थियो ।

मन्त्रिपरिषदमा यसअघि नै एकीकृत समाजवादीबाट श्रम, राेजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्री छन् ।

भागबण्डामा विवाद उत्पन्न भएपछि मुख्यमन्त्री कार्यालयमा मंगलबार दिउँसो मुख्यमन्त्री जम्कट्टेल, एमाले नेता थपलिया, एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालबीच छलफल भएको थियो । छलफलमा सहमति जुटेपछि चार मन्त्रीले शपथ लिएका हुन् ।

सरकारलाई पूर्णता

मुख्यमन्त्री तथा मन्त्रिपरिदषद् कार्यालयसहित १२ वटा मन्त्रालय रहेकाे बागमतीमा मन्त्रिपरिषद सदस्य संख्या १३ पुगेको छ ।

११ वटा मात्रै मन्त्रालय कायम गर्ने सत्ता गठबन्धनबीच सहमति भएको थियो । तर मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीबाट मगरलाई विना विभागीय मन्त्री बनाएपछि एमाले असन्तुष्ट बनेकाे छ ।

`उहाँले विना विभागीय मन्त्री बनाउनुभयाे । ११ वटा मन्त्रालय कायम गर्ने कुरा भइरहेकामा झन् थपिनु ठीक थिएन । तर सहमतिअनुसार कुरा अगाडि बढेकाे छ’, एमालेका एक सांसदले भने, ‘एमालेले पाउनुपर्ने थप ४ वटा मन्त्रालय छाेड्ने कुरा थिएन ।’

चर्चामा

सम्बन्धित समाचार