आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • कुन प्रदेशमा कसले मुख्यमन्त्री लिने, यस्तो छ सत्ता गठबन्धनमा भागबन्डाको खाका

कुन प्रदेशमा कसले मुख्यमन्त्री लिने, यस्तो छ सत्ता गठबन्धनमा भागबन्डाको खाका

  • मङ्लबार, चैत्र १३, २०८०
कुन प्रदेशमा कसले मुख्यमन्त्री लिने, यस्तो छ सत्ता गठबन्धनमा भागबन्डाको खाका

सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) कुन प्रदेशमा कसले सरकारको नेतृत्व गर्ने भन्नेमा सहमतिनजिक पुगेका छन्।

एमाले र माओवादीका शीर्ष नेताहरूबीच कहाँको प्रदेश सरकार कुन पार्टीले लिने भन्नेमा छलफल सुरू भएको प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

बागमती प्रदेशबाट पार्टीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको बैठकमा अध्यक्ष प्रचण्डले प्रदेश सरकार कहाँ कसको नेतृत्वमा बन्ने भन्ने विषयमा ‘ब्रिफिङ’ गरेका हुन्। उनले बागमतीमा एमाले र माओवादी केन्द्र दुवै दलबाट मुख्यमन्त्रीमा दाबी गरेको बताएका थिए।

माओवादीको बैठक सुरू हुनुअघि सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भएको छलफलमा प्रदेशको मुख्यमन्त्री कहाँ, कसले लिने भन्नेबारे छलफल भएको थियो।

त्यही सहमतिको जानकारी अध्यक्ष प्रचण्डले बागमतीका केन्द्रीय सदस्यहरूको बैठकमा दिएका हुन्। प्रचण्डले बैठकमा बताएअनुसार अब नयाँ गठबन्धनबाट कोशी प्रदेशको नेतृत्व एमालेले लिनेछ।

‘कोशीमा एमाले ठूलो दल पनि हो, उसको दाबी स्वभाविक रहन्छ। त्यसैले कोशीको मुख्यमन्त्री एमालेबाटै हुन्छ होला,’ अध्यक्ष प्रचण्डका भनाइ उद्धृत गर्दै माओवादीका एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने।

कोशीमा अहिले नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्री छन्। उनी संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

कोशीमा एमालेका ४०, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। यहाँ बहुमतका लागि ४७ सांसद चाहिन्छ, जुन नयाँ गठबन्धनका लागि आरामसाथ पुग्छ। ९३ सदस्यीय कोशी प्रदेश सभामा कांग्रेसका २९, राप्रपाका ६ सांसद छन्।

मधेसको मुख्यमन्त्री जसपाले नै राख्ने सहमति भएको प्रधानमन्त्री दाहालको भनाइ थियो। मधेसमा अहिले पनि जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन्। जसपा नेतृत्वको मधेस सरकारमा एमाले र माओवादीबाट मन्त्रीहरू छन्।

१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ। एमालेका सभामुखसहित २४, माओवादीका ९, जसपाका १९, एकीकृत समाजवादी ७ सांसद छन्। यहाँ कांग्रेसका २२, जनमत पार्टीका १३, लोसपा ९, राप्रपा १, नागरिक उन्मुक्ति १, संघीय समाजवादी १ र स्वतन्त्र १ सांसद छन्।

यस्तै बागमती प्रदेश माओवादीले नै राख्ने गरी लगभग सहमति भएको तर एमालेले पनि दाबी गरिरहेको अध्यक्ष प्रचण्डले बताएका थिए।

११० सदस्यीय बागमतीमा सरकार बनाउन ५६ सांसदको साथ चाहिन्छ। यहाँ एमालेका २७, माओवादीका २१ र एकीकृत समाजवादीका ७ सांसद छन्। बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टी ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

बागमतीमा अहिले माओवादी संसदीय दल नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन्।

‘बागमतीमा एमालेका साथीहरूको पनि दाबी छ तर हामीले नै राख्छौं होला,’ प्रचण्डको भनाइ उधृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘बरू कर्णाली प्रदेश एमालेलाई दिने निश्चित भइसकेको छ।’

कर्णालीमा अहिले माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री छन्। ४० सदस्यीय कर्णालीमा बहुमतका लागि २१ सांसद चाहिन्छ। यहाँ एमालेका १० र माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ जना सांसद छन्। कांग्रेसका १४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।

यस्तै गण्डकी प्रदेशको मुख्यमन्त्री पनि एमालेलाई दिने लगभग निश्चित भइसकेको उनले बताएका थिए।

‘गण्डकीमा हाम्रो दाबी छैन, एमालेले पनि खासै रूची देखाएको छैन। तर हामीले गण्डकीको मुख्यमन्त्री लिँदा लुम्बिनी छोड्न पर्ने हुन्छ, त्यसैले गण्डकीको मुख्यमन्त्री एमालेलाई नै लिनुस् भनेको छु,’ अध्यक्ष प्रचण्डले भनेका थिए।

गण्डकीमा अहिले कांग्रेसका संसदीय दल नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन्। ६० सदस्यीय गण्डकीमा बहुमतका लागि ३१ सांसदको साथ चाहिन्छ।यहाँ एमालेका २२ र माओवादीका सभामुखसहित ८ सांसद छन्। यहाँ कांग्रेसका २७, राप्रपाका २, एकीकृत समाजवादीका १ सांसद छन्।

लुम्बिनीको मुख्यमन्त्री माओवादीले नै लिने गरी छलफल भइरहेको अध्यक्ष दाहालको भनाइ थियो। लुम्बिनीमा अहिले कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन्।

८७ सदस्यीय लुम्बिनीमा बहुमतका लागि ४४ सांसदको साथ चाहिन्छ। एमालेका २९, माओवादीका ९, जसपाका ३, नागरिक उन्मुक्ति पार्टीका ४ र एकीकृत समाजवादीका १ सांसद छन्। यहाँ कांग्रेसका २७, राप्रपाका ४, लोसपाका ३, जनमतका ३, जनमोर्चाका १ र स्वतन्त्र १ सांसद छन्। यीमध्ये राप्रपाका सांसद जानकीप्रसाद यादव वन मुद्दामा निलम्बनमा परेका छन्।

यस्तै सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गरी छलफल भएको अध्यक्ष दाहालले बताएको ती केन्द्रीय सदस्य बताउँछन्। अहिले कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह मुख्यमन्त्री छन् भने नाउपा पनि सरकारमै छ।

सत्ता गठबन्धनलाई सुदूरपश्चिम सरकार बनाउन ७ सांसद रहेको नाउपा निर्णायक हुन्छ। ५३ सदस्यीय सुदूरपश्चिममा बहुमतका लागि २७ सांसदको साथ चाहिन्छ।

एमालेका १०, माओवादी केन्द्रका ११ र नाउपाका ७ सांसद र एकीकृत समाजवादीका ४ छन्। यहाँ कांग्रेसका १९, राप्रपा १ र स्वतन्त्र १ सांसद छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार अब कोशी, गण्डकी र कर्णाली प्रदेशको मुख्यमन्त्री एमाले, लुम्बिनी र बागमतीमा माओवादी केन्द्र, मधेसमा जनमत र सुदूरपश्चिममा नाउपाबाट मुख्यमन्त्री बन्नेछन्।

मंगलबार साँझसम्म सहमतिलाई अन्तिम रूप दिइने प्रधानमन्त्रीको ‘ब्रिफिङ’ थियो।

चर्चामा

सम्बन्धित समाचार