• होमपेज
  • राजनीति
  • सुदूरपश्चिम सरकारबारे राप्रपाले गर्न सकेन निर्णय

सुदूरपश्चिम सरकारबारे राप्रपाले गर्न सकेन निर्णय

  • बिहिबार, चैत्र ८, २०८०
सुदूरपश्चिम सरकारबारे राप्रपाले गर्न सकेन निर्णय

धनगढी– राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेशको कार्य सम्पादन समितिको बैठक प्रदेश सरकारमा सहभागिताको निर्णय नगरी सकिएको छ ।

प्रदेश सचिव छत्रबहादुर शाहीका अनुसार बैठकमा सरकारलाई समर्थन गर्नुपर्ने र गर्न नहुने दुबै मत आएको छ । ‘समर्थन गर्ने अवस्थामा सरकारमै जानुपर्छ भन्ने सुझाव पनि आएका छन् तर आज कुनै निर्णय हुन सकेन’, शाहीले भने ।

यो विषयमा केन्द्रीय कार्यसम्पादन समितिले फेरि एकपटक ९ वटै जिल्लाका अध्यक्षसँग प्रदेश सरकारका बारेमा छलफल गर्ने भएकाले तत्काल कुनै निर्णयमा नपुगिएको शाहीले बताए ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत पुर्‍याउन नागरिक उन्मुक्ति पार्टीका पाँच जनालाई मन्त्री बनाएका छन् ।

शाहलाई कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जनाको मात्र समर्थन भएकाले उनले बहुमत पुर्‍याउन राप्रपा र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको साथ खोजेका छन् । दुवैले समर्थन गरेमा मात्र उनलाई चाहिने बहुमत प्रदेशसभा सदस्य २७ जना पुग्छ ।

तर राप्रपा र स्वतन्त्र सांसदले नागरिक उन्मुक्ति पार्टीभित्र सरकारको विषयलाई लिएर दुई धार भएकाले ७ जनालाई नै विश्वासमा लिएपछि मात्र आफूहरुले समर्थन गर्ने वा नगर्ने निर्णय गर्ने जवाफ मुख्यमन्त्रीलाई दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार