शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोरोना देखियो, अझै छैन सतर्कता

कोरोना देखियो, अझै छैन सतर्कता

  • आइतवार, पुस २९, २०८०
कोरोना देखियो, अझै छैन सतर्कता

काठमाण्डाै– भारतमा फैलिएको ओमिक्रोन भाइरसको नयाँ भेरियन्ट जेएन. १ नेपालमा पनि देखिइसक्यो। तर, सरकारले नेपाल–भारत सीमा नाकामा सतर्कता अपनाएको छैन। दुई देशबीच खुला सीमाका कारण आवतजावतमा विशेष सतर्कता चाहिन्छ। जबकि कोरोनाको नयाँ भेरियन्ट थप भित्रिन नपाओस्। राज्यका निकायको ध्यान यसतर्फ गएको देखिँदैन। यसकै परिणाम नेपालमा नयाँ भेरियन्ट भेटिएको भन्नु अस्वाभाविक हुँदैन।

हाम्रा नाकाहरूमा विगतमा पनि जति सतर्कता अपनाइनुपथ्र्यो त्यति नअपनाइएको यथार्थ छ। तापनि, विश्वव्यापी महामारीबाट हामी मात्रै अछुतो त रहन सक्दैनथ्यौं। तर, सतर्कता र सावधानीले पक्कै पनि धेरै हदसम्म जोगाउँछ, बचाउँछ नै। जेएन. १ भेरियन्टको विशेषता के छ भने यसको संक्रमणदर धेरै तीव्र देखिएको छ। त्यही कारण पनि सतर्कताको मात्रा झन् बढी आवश्यक छ। तर, जमुनाहासहित नाकाको हालतले नयाँ संक्रमणबारे राज्य बेखबर भएको प्रतीत हुन्छ। उक्त नाकामा स्वास्थ्य डेस्क छ तर जाँच छैन। आवतजावत निर्वाध ढंगले चलिरहेको छ। कर्मचारी छन् तर के गर्ने भनेर निर्देशन नआउँदा अन्योलग्रस्त छन्।

विज्ञका अनुसार यो भेरियन्टमा पनि ओमिक्रोन भाइरस संक्रमण भएजस्तै टाउको दुख्ने, घाँटी दुख्ने, शिथिल महसुस हुने र ज्वरो आउनेलगायत लक्षण देखिन्छन्। तर मृत्युदर अघिल्लो खेपमा जस्तो डरलाग्दो छैन। यद्यपि, भारतमा यसको संक्रमणबाट बिरामीको मृत्यु भइसकेको छ। त्यसैले नै हामीकहाँ सतर्कता अपनाउनु अत्यावश्यक भइसकेको छ।

जुनसुकै सरुवा रोगको प्रसार (फैलने क्रम)मा मुख्य कारण मानिसको गतिविधि नै हो। हामी आफैं पनि सावधान/सतर्क रहन आवश्यक छ। संक्रमणबाट जोगिने उपाय अपनाउन लाग्नुपर्छ। एकार्काबीच भौतिक दूरी कायम गर्नुपर्छ। मास्कको प्रयोग गर्नुपर्छ। सरसफाइमा ध्यान दिनुपर्छ।

अहिले जाडो मौसम भएकाले यसै पनि बालबालिका, अशक्तता भएका, ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन विभिन्न उपाय अवलम्बन गरिरहनुपर्छ। त्यसमाथि यस्ता संक्रमणले बिरामी, ज्येष्ठ नागरिक, दीर्घ रोगीलाई सजिलै समातिहाल्छ। तसर्थ, त्यस्ता नागरिकको स्वास्थ्य रक्षार्थ घरपरिवारले पनि सुझबुझपूर्ण व्यवहार गर्नुपर्छ। नागरिक पनि सचेत बन्ने र राज्यले पनि निगरानीसहित सचेतना अभियान चलाउने हो भने संक्रमणले क्षति पुर्‍याउन मुस्किल हुन्छ।

चर्चामा

सम्बन्धित समाचार