शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • सबै कुरा सित्तैमा पाइने संसारको अनौठो गाउँ

सबै कुरा सित्तैमा पाइने संसारको अनौठो गाउँ

जहाँका सबै मानिसलाई छ बिर्सिने रोग

  • सोमवार, पुस ९, २०८०
सबै कुरा सित्तैमा पाइने संसारको अनौठो गाउँ

विश्वमा यस्ता कैयन् गाउँ तथा सहरहरु छन् जो बाँकी दुनियाँभन्दा केही फरक र अनौठो छन् । दक्षिण पश्चिमी फ्रान्सको ल्यान्डेस गाउँ पनि एउटा विचित्रको गाउँ हो, किनकि त्यहाँका सबै मानिसलाई डिमेन्सिया अर्थात् बिर्सिने रोग छ । सो गाउँमा बस्ने मानिसहरु मध्ये सबैभन्दा पाको उमेरका व्यक्ति १०२ वर्षका छन् भने सबैभन्दा कम उमेरका व्यक्ति ४० वर्षका हुन् ।

गाउँको मुख्य चोकमा एउटा किराना पसल छ जहाँ दैनिकीलाई आवश्यक पर्ने सबै खालका चिजबिज पाइन्छन् । तर, रोचक त के भने उक्त पसलबाट सामान सित्तैमा पाइन्छ र कुनै पैसा तिर्नुपर्दैन । त्यसैले पसलमा सामान लिन जाँदा कसैलाई पनि गोजीमा पैसा राख्नका लागि सम्झिनु आवश्यक पर्दैन ।

सित्तैको दुकान र रेष्टुरेन्टसँगै गाउँलेहरुलाई थिएटरमा जाने र अन्य क्रियाकलापहरुमा पनि सित्तैमा भाग लिनका लागि प्रोत्साहित गरिन्छ । वास्तवमा भिलेज ल्याण्डेस एक प्रकारको प्रयोगशाला हो । अर्थात् वैज्ञानिक प्रयोगकै लागि सो गाउँको स्थापना गरिएको हो । के अल्जाइमर तथा डिमेन्सियाबाट पीडित मानिसहरुमा हरेक विषयका बारेमा स्मरण राख्नुपर्ने तनावलाई दूर राख्नाले रोग निको पार्नमा सहयोग पुग्छ ? भन्ने विषयमा त्यहाँ प्रयोग चलिरहेको छ ।

बोर्डो विश्वविद्यालयका शोधकर्ताहरुले एक टिमले गरिरहेको सो प्रयोगको नेतृत्वकर्ता प्राध्यापक हेलेन अमिवा हुन् । उनी गाउँवासीहरुसँग कुराकानी गर्ने तथा बिरामीहरुको प्रगतिको निगरानी गर्नका लागि हरेक ६ महिनामा त्यहाँ आउँछन् । त्यहाँ किनमेलदेखि सरसफाइसम्मका लागि कुनै समयतालिका तोकिएको छैन । गाउँलेहरुलाई सबै कामकुरा आफ्नै हिसाबले गर्ने छुट छ ।

प्राध्यापक अमिवाका अनुसार त्यो गाउँमा राखिएका बिरामीहरुका परिवार यसकारण खुसी छन् कि उनीहरुका प्रियजन त्यहाँ सुरक्षित छन् र कुनै तनावविना जिन्दगी बिताइरहेका छन् । सोही कारण त्यहाँका बिरामीहरुको स्वास्थ्य अवस्थामा पनि सुधार आइरहेको छ । यो गाउँमा करिब १२० जना मानिस बस्दछन् र उत्तिकै संख्यामा स्वास्थ्यकर्मीहरु पनि ।

सो गाउँमा बस्ने एकजना बिरामीकी छोरी डोमिनिक भन्छिन्, ‘मलाई मानसिक शान्ति मिलेको छ किनकि मेरी आमा यहाँ शान्तिपूर्वक बस्नुभएको छ र उहाँ सुरक्षित हुनुहुन्छ । आमालाई यहाँ छाड्न पाउँदा मलाई राहत मिल्दछ । जब त्यहाँ म जान्छु मलाई आफ्नै आमाको घर गएर आमासँग बसेजस्तो लाग्दछ ।’

यो गाउँका बासिन्दाहरुको परिवारले वार्षिक ३० हजार शुल्क तिर्नुपर्छ । फ्रान्सको प्रान्तीय सरकारले यो गाउँ स्थापनाका लागि २ करोड २० लाख डलर बराबरको रकम अनुदान दिएको थियो । सन् २०२० मा यो गाउँको स्थापना भएको हो । यो यस्तो खालको दोस्रो गाउँ भएता पनि बिरामीमाथि अनुसन्धान र प्रयोगका लागि स्थापित विश्वकै पहिलो गाउँ हो ।

चर्चामा

सम्बन्धित समाचार