• होमपेज
  • शिक्षा
  • गेटामा ६ सय बेडको अस्पतालसहित विश्वविद्यालय सञ्चालन हुन्छ –प्रधानमन्त्री दाहाल

गेटामा ६ सय बेडको अस्पतालसहित विश्वविद्यालय सञ्चालन हुन्छ –प्रधानमन्त्री दाहाल

  • शनिबार, मंसिर २३, २०८०
गेटामा ६ सय बेडको अस्पतालसहित विश्वविद्यालय सञ्चालन हुन्छ –प्रधानमन्त्री दाहाल

धनगढी— प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटामा नेपालमै पहिलो पटक सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउने बताएका छन्।

कैलालीको धनगढीमा शुक्रवारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सुदूरपश्चिम विश्वविद्यालयसँगै गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आफ्नो भूमिका रहेको बताएका छन्।

उनले भने, ‘गेटामा मेडिकल कलेजका लागि २०६६ सालमा पहिलो पटक बजेट विनियोजन गरिएको र बिचमा विवादित भएर रोकिएको काम म दोस्रो पटक प्रधानमन्त्री हुँदा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेपछि शुरु भएको थियो। सो अनुरूपका संरचना निर्माण करिब सम्पन्न हुने अवस्थामा छन्। अहिले मेरो तेस्रो कार्यकालमा गेटामा मेडिकल कलेज मात्र होइन, शिक्षण अस्पतालसहितको स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भएको छ।’

प्रधानमन्त्री दाहालले विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल, अनुसन्धान केन्द्र, स्कुल अफ हेल्थ साइन्स, विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल र अन्य अस्पताल रहने गरी कानून निर्माणको चरणमा रहेको समेत जानकारी गराए। उनले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयले अन्य अस्पतालहरूलाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रावधानहरू संसदबाट पारित हुने प्रतिबद्धता समेत जनाएका छन्।

सुदूरपश्चिम विकास आयोगको गठनदेखि सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, यस क्षेत्रमा रोजगारी र विकासका लागि उत्तर दक्षिण जोडने महाकाली करिडोर, उत्तरतर्फ उरै भञ्ज्यांगदेखि दक्षिणतर्फ भारतको सीमाना जोडने सडक, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र (सेज) तथा वेदकोट नगरपालिकाको दैजी–छेलामा औद्यौगिक क्षेत्र स्थापनाको घोषणा, महाकाली नदीमा मोटरेबल पुल, महाकाली सिँचाई आयोजनाको तेस्रो चरणको कामको सुरुवात गरिएको प्रधानमन्त्री दाहालले बताएका छन । दिनेशखबर

चर्चामा

सम्बन्धित समाचार