शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • प्रदेश १
  • कोशीमा ५० करोड थपेर ल्याइयो बजेटको प्रतिस्थापन विधेयक

कोशीमा ५० करोड थपेर ल्याइयो बजेटको प्रतिस्थापन विधेयक

  • शनिबार, मंसिर ९, २०८०
कोशीमा ५० करोड थपेर ल्याइयो बजेटको प्रतिस्थापन विधेयक

विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेश गरेका छन् । अध्यादेशमा रहेको भन्दा ५० करोड आकार वृद्धि गर्दै कार्कीले शनिबार प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा समेत रहेका मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयक मार्फत चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश गरेका हुन् ।

यसअघि तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्की अध्यादेश मार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएका थिए । अध्यादेशमा रहेका केही योजना कटौती गरी नयाँ योजना थप गरेका मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयक मार्फत बजेटको आकार ५० करोड वृद्धि गरेका हुन् ।

संसदमा पेश भएको बजेट विधेयकमा चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार विनियोजन गरिएको छ । पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्था तर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरिएको छ ।

बजेटको स्रोतका रुपमा आन्तरिक राजस्व ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख रुपैयाँ राखिएको छ ।

त्यस्तै समपूरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार तथा नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार खर्च व्यहोर्ने मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालू आर्थिक वर्षका लागि पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । अध्यादेश प्रतिस्थापनका लागि संसदमा विधेयक पेश भएन ।

दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि तत्कालिन मुख्यमन्त्री कार्कीले २४ भदौमा दोस्रो पटक अध्यादेश मार्फत बजेट ल्याएका थिए । २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार