सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराकाे काेटीलामा हिन्दु-मुस्लिम मिलेर संगै मनाए दसैं

बाजुराकाे काेटीलामा हिन्दु-मुस्लिम मिलेर संगै मनाए दसैं

  • शनिबार, कार्तिक ११, २०८०
बाजुराकाे काेटीलामा हिन्दु-मुस्लिम मिलेर संगै मनाए दसैं

बाजुरा– विजयादशमीका दिन बाजुराको कोटिला गाउँका तीन टोलका बासिन्दा टीका थलीमा भेला भए । हिन्दु–मुस्लिम मिश्रित बसोबास रहेको कोटिलामा विगतझैं यसपालि पनि सामूहिक रूपमा टीका–जमरा लगाएर दसैंलाई उत्सवका रूपमा मनाए ।
खुदाबक्स मियाँ विजयादशमीका दिन तीनवटै टोलमा पुगेर शाही परिवारका तीन थलीमा आयोजित सामूहिक टीका–जमरा ग्रहणमा सहभागी भए । ८४ वर्ष पुगेका उनी कोटिलाकै ज्येष्ठ उमेरका हुन् । उनलाई हिन्दु समुदायकाले टीका र जमरा लगाए, उनले पनि सबैलाई टीका–जमरा लगाएर शुभकामना दिए । उनी मात्रै होइन, युवा र बाला उमेरका मुस्लिम समुदायका व्यक्तिले पनि टीका थलीमा पुगेर शुभकामना साटासाट गरे ।

‘कोटिलामा हाम्रा चाडपर्व साझा हुन् । दसैंमा हाम्रो घरमा पनि हर्ष र खुसीयाली छाउँछ,’ स्थानीय सइजद मियाँले भने, ‘हामी सबै घरबाट उहाँहरूले आयोजना गरेका टीका थलीमा गयौं । टीका लगाइदियौं । दुवैतर्फका परिवार एकअर्काका चाडपर्वमा समान ढंगले सहभागी हुन्छौं ।’

सद्भावका साथ हिन्दुहरू मुस्लिम समुदायको चाडमा सहभागी हुने र मुस्लिम हिन्दुको चाडपर्वमा सहभागी हुने परम्परा जस्तै रहेको सइजदले बताए । ‘कोटिला सद्भाव र एकताको नमुना गाउँ हो,’ मुस्लिम समुदायबाट एकमात्र सरकारी जागिरे सइजदले भने, ‘हाम्रा चाडपर्वमा उहाँहरू पनि उत्साहका साथ सहभागी हुनुहुन्छ ।

सदियौंदेखि दुवैतर्फ आपसी सम्मान र भाइचारा कायम छ र यो परम्परा आगामी पुस्ताले पनि बिथोल्ने छैन ।’ आफूहरूले घरमा जमरा नराखे पनि टीकाका दिन मस्जिदमा बाजागाजासहित टीका लगाएको सइजदले बताए । मुस्लिम समुदायले मनाउने इद, बकरइदलगायतका पर्वमा आफूहरू पनि उत्साहपूर्वक सहभागी हुने गरेको स्थानीय नरेन्द्र शाहीको भनाइ छ ।
बूढीनन्दा नगरपालिकामा पर्ने कोटिला गाउँका दुई सयमध्ये २२ परिवार मुस्लिम समुदायका छन् । यहाँ दुवै समुदायबीच कुनै सामाजिक विभेद नरहेको वडाध्यक्ष गजेन्द्रबहादुर शाहीले बताए । ‘दुवै समुदाय घरभित्र आफ्नै धार्मिक आस्था र परम्परामा दृढ छन् । मुस्लिमले मस्जिदमा नमाज पढ्छन्, मदरसा चलेका छन् । हिन्दुहरूको आफ्नै रीतिरिवाज छ ।

तर, धार्मिक आस्थाले आपसी सद्भावलाई कहिल्यै असजिलो पारेको छैन,’ वडाध्यक्ष शाहीले भने, ‘धर्मकर्म, पूजापाठ, रहनसहन र खानपानको तौरतरिका आआफ्नै छन् । तर दुवै समुदायका बीच अटुट भाइचारा छ ।’ मस्जिद निर्माण गर्दा आफूहरू सहभागी हुने गरेको र मस्टाको मन्दिर बनाउँदा मुस्लिम समुदाय सहभागी हुने गरेको उनले बताए । कान्तिपुर दैनिकबाट 

चर्चामा

सम्बन्धित समाचार