सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • धार्मिक
  • नवरात्रीमा कुन देवीको पूजा कुन दिन गर्ने ?

नवरात्रीमा कुन देवीको पूजा कुन दिन गर्ने ?

  • सोमवार, अशोज २९, २०८०
नवरात्रीमा कुन देवीको पूजा कुन दिन गर्ने ?

२०८० सालको बडादसैँ सुरु भइसकेको छ । आइतबार घटस्थापना गरी जमरा राखेसँगै नवरात्री सुरु भएको हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवरात्री पर्व मनाइन्छ ।

नवरात्रीका अवसरमा नवदुर्गाको विशेष पूजा गर्ने गरिन्छ । यी देवीहरूलाई शक्तिको केन्द्र समेत मानिन्छ । हिन्दु धर्ममा शक्तिको श्रोत देवीलाई मान्ने गरिएको छ । नवरात्रीमा देवीको उपासना र आराधनाको अर्थ शक्तिको पूजा आराधना हो ।

नवरात्रीमा कुन देवीको पूजा कुन दिन ?

शैलपुत्री : आश्विन शुक्ल प्रतिपदाका दिन शैलपुत्रीको पूजा गरिन्छ । शैलपुत्री नवदुर्गा मध्येकी प्रथम देवी (दुर्गा) हुन् । दुर्गाको ९ वटा रूप छन् । दुर्गाको पहिलो स्वरुप ’शैलपुत्री’ हो । पर्वतराज हिमालयको घरमा पुत्रीको रूपमा उत्पन्न भएका कारण यिनको नाम ’शैलपुत्री’ राखिएको हो । नवरात्री पूजनमा प्रथम दिन यिनैको पूजा र उपासना गरिन्छ । आश्विन शुल्क प्रतिपदाको दिन शैलपुत्रीको आराधना गर्नाले धन, धान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने धार्मिक विश्वास छ ।

ब्रह्मचारिणी : आश्विन शुक्ल द्वितीयका दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ । ब्रह्मचारिणी नवदुर्गाको दोस्रो स्वरुप हो । यिनले दाहिने हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु लिएकी छिन् । देवी ब्रह्मचारिणीको स्वरूप अद्भूत र दिव्य छ ।

चन्द्रघण्टा : आश्विन शुक्ल तृतीयाका दिन चन्द्रघण्टाको पूजा गरिन्छ । चन्द्रघण्टा माताको निधारमा घण्ट आकारको अर्धचन्द्र छ । यिनको शरीरको रङ्ग सुन जस्तै चम्किलो छ । यिनको हातमा शस्त्र पनि छ । यिनको बाहन सिंह हो । यिनको मुद्रा युद्धका लागि तयार रहेको जस्तो देखिन्छ । चन्द्रघण्टाको घण्टको डरलाग्दो ध्वनीले अत्याचारी दानव, दैत्य सबै डराउँछन् ।

कुष्माण्डा : आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गरिन्छ । आठ हातहरू भएकी कुष्माण्डा देवी अष्टभुजा देवीको नामबाट पनि चिनिन्छिन् । यिनको हातमा कमण्डलु, धनुष बाण, कमलको फूल, अमृत पूर्ण कलश, चक्र र गधा रहेको हुन्छ । देवी कुष्माण्डाको वाहन सिंह हो ।

स्कन्दमाता : आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गरिन्छ । स्कन्दमाता नवदुर्गा मध्येकी पाँचौँ देवी हुन् । देवी दुर्गा, आफ्नो पाँचौँ स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध छिन् । स्कन्दमाताको चार वटा हात छन् । दाहिनेतर्फको माथिको हातमा भगवान् स्कन्द रहेका छन् । दाहिने तर्फको तलको हातमा कमलको फूल रहेको छ । बायाँतर्फको माथिको हातमा वरमुद्रा रहेको छ भने तलको हातमा पनि कमलको फूल रहेको छ ।

कात्यायनी : आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गरिन्छ । देवी कात्यायनीको रङ्ग सुन जस्तै चम्किलो हो । यिनका चार वटा हात रहेका छन् । दायाँको माथिल्लो हातमा अभय मुद्रामा छिन् र तल्लो हातमा वर मुद्रा रहेको छ । बायाँको माथिल्लो हातमा तरबार रहेको छ र तल्लो हातमा कमलको फूल रहेको छ । कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःखजस्ता संकट नास हुने धार्मिक विश्वास छ ।

कालरात्री : आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गरिन्छ । दसैँको अष्टमी र सप्तमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र विजया दशमीका दिनमा विसर्जन गर्छन् । कालरात्रि देवीको शरीरको रङ्ग अन्धकार जस्तै कालो छ । कपाल बिग्रिएको छ । घाँटीमा बिजुली चम्केजस्तो चमकदार माला छ । यिनको तीन वटा नेत्र छन् । यिनको नाकबाट अग्निको डरलाग्दो ज्वाला निस्किरहन्छ । यिनको बाहन गधा हो ।

महागौरी : आश्विन शुक्ल अष्टमीका दिनमा महागौरीको पूजा गरिन्छ । महागौरी नवदुर्गा मध्ये आठौँ देवी हुन् । देवी महागौरीको रङ्ग निकै गोरो छ । यिनको वस्त्र र गहना आदि पनि सेता छन् । महागौरीको बाहन साँढे हो । दायाँ भागको माथिको हातमा अभय मुद्रा र तल्लो हातमा त्रिशूल रहेको छ भने बायाँ भागको माथिल्लो हातमा डमरू र तल्लो हातमा वर मुद्रा छ । यिनको स्वभाव शान्त रहेको छ ।

सिद्धिदात्री : सिद्धिदात्री नवदुर्गा मध्येकी नवौँ तथा अन्तिम देवी हुन् । माता सिद्धिदात्रीका चार हात छन् । यिनको बाहन सिंह हो । उनी कमलको फूलमा विराजमान छिन् । यिनको दाहिनेतर्फको माथिको हातमा गदा र तल्लो हातमा चक्र रहेको छ । बायाँ हातमा कमलको फूल र शंख रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार