शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • दशै तिहार नजिकिएसंगै सुदूरपश्चिमका सीमा नाकाबाट स्वदेश फर्कनेको घुँइचो

दशै तिहार नजिकिएसंगै सुदूरपश्चिमका सीमा नाकाबाट स्वदेश फर्कनेको घुँइचो

  • शुक्रबार, अशोज १९, २०८०
दशै तिहार नजिकिएसंगै सुदूरपश्चिमका सीमा नाकाबाट स्वदेश फर्कनेको घुँइचो

धनगढी— दशै तिहार नजिकिएसंगै सुदूरपश्चिमका सीमा नाकाबाट स्वदेश फर्कनेको दिनहुँ घुँइचो लाग्ने गरेको छ। नेपाल–भारत सीमा नाका हुँदै सुदूरपश्चिम प्रवेश गर्नेको संख्या दैनिक रुपमा बढ्न थालेको हो।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर (गौरीफन्टा), जुलाघाट बैतडी, पुलघाट नाका दार्चुला र जोलाजिमी नाका दार्चुलाबाट कामका लागि भारतका विभिन्न सहर पसेकाहरु यतिबेला स्वदेश फर्कन थालेका छन्। पछिल्लो दुई सातायता ठुलो संख्यामा स्वदेश फर्कनेहरुको संख्या बढ्न थालेको छ।

विहिबार मात्र गड्डाचौकी नाका कञ्चनपुरबाट एक सय ६६, जुलाघाट नाका बैतडीबाट १८ र सबैभन्दा बढी गौरीफन्टा नाका कैलालीबाट ७ सय ६८ गरी ९ सय ५२ जना स्वदेश फर्किएका छन्। सबैभन्दा बढी गौरीफन्टा र त्यसपछि गड्डाचौकी नाकाबाट स्वदेश फर्कने गरेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र (पीइओसी) ले संकलन गरेको विवरणमा उल्लेख छ।

हिन्दुहरुको महान चाड वडा दशै, तिहार र छठपर्व नजिकिदै गर्दा भारतबाट स्वदेश फर्कनेको संख्या दैनिक रुपमा बढ्न थालेको छ। प्रदेशका विभिन्न सीमा नाका हुँदै दैनिक एक हजारको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन्। सुदूरपश्चिमबाट कामको खोजीमा परिवारसहित भारत पसेकाहरु पनि यतिबेला स्वदेश फर्कन थालेका छन्।

सीमा क्षेत्रमा पुरुषसँगै महिला र बालबालिका समेत घर फर्कने क्रम डेढसातायता बढेको छ। चाड पर्व नजिकिएसँगै यतिबेला भारत पस्नेभन्दा फर्कनेको संख्या उच्च देखिएको छ। सीमा नाकामा पछिल्लो समय बाहिरिने र भित्र्नेको लगत संकलन गर्ने काम हुँदै आएको छ।

चर्चामा

सम्बन्धित समाचार