शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • देश
  • पर्सिसम्म देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना

पर्सिसम्म देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना

  • सोमवार, अशोज १५, २०८०
पर्सिसम्म देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना

बाजुरा— मौसम पूर्वानुमान महाशाखाले पर्सिसम्म देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालका विभिन्न भूभागमा आज बिहानैदेखि पानी परेको छ ।

बिहान देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा दिउँसो पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाढी पूर्वानुमान शाखाले पनि भोलि र पर्सिसम्म राप्ती, बबई, तिनाउका सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने जानकारी दिएको छ ।

शाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेश भएर बग्ने ससाना नदीमा पनि वहाव बढ्ने भएकाले नदी किनार र भिरालो क्षेत्रमा बसोबास गर्ने सबैले सतर्कता अपनाउनुपर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार