बिहिबार, अशोज ११, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाका पुजारीले जातिय विभेद गरेको आरोपमा प्रहरीमा निवेदन

बडिमालिकाका पुजारीले जातिय विभेद गरेको आरोपमा प्रहरीमा निवेदन

  • बिहिबार, भदौ २१, २०८०
बडिमालिकाका पुजारीले जातिय विभेद गरेको आरोपमा प्रहरीमा निवेदन

बाजुरा– सदरमुकाम मार्तडीमा रहेको बडीमालिका मन्दिरमा पुजा गर्न गएका दलित समुदाय माथि पुजारीले जातिय विभेद गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । श्रीकृष्ण जन्मअष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवतीको हातको पुजा सामग्री सहितको थाली मन्दिरका पुजारी दलबहादुर रावलले बाहिर फालि दिएर टिका लगाउन अस्वीकार गरेको  आराेपमा पुजारीकाे नाममा उजुरी गरिएकाे जनाइएकाे छ ।
पुजारीले बडीमालिका नगरपालिका ९ का संगीता विक, झरना विक, सोनु विक, शान्ति विक, बर्षा विक, सावित्रा विक, विपना विक सहीतको टोली माथि विभेद गरेका पीडितले बताएकी छन । सँगै रहेका अरुलाई केही नभनी टिका लगाएको र आफूहरुलाई चामलका दानाले हिर्काउँदै तिमीहरु किन आएको, यो तिमीहरुको हक नलाग्ने ठाउँ हो, गइहाल भन्दै सार्वजनिक रुपमा अपमान र विभेद गरेको झरना विकले बताइन ।
दर्शन गर्नेको लाइन बाक्लो भएपछि उनीहरुले साढे ९ बजेतिर मात्रै लाइन बसेका उनीहरु तल्लो जातको मान्छेहरु पनि आउन हुन्छ भन्दै बाहिर जान भनेपछि मुल मन्दिरको टिका ग्रहण नै नगरि घर फर्किनु परेको पिडीतहरुको भनाइ रहेको छ ।
विभेद गरेपछि आफूहरु केही नभनि फर्किएको दुखेसो उनीहरुको छ । बडीमालिका मन्दिरमा यहाँका दलित समुदायले पटक पटक विभेद सहनु परेको छ । मन्दिर व्यवस्थापन समितिले कुनै प्रकारको विभेद नगर्ने र सबैलाई सहज पुजा पाठको अवसर दिने निणर्य गरेको अध्यक्ष करे रावलले बताए । ८ नम्बर वडाका वडा सदस्य समेत रहेका रावलले विभेद नै गरिएको जानकारी नभएको र गरिएको भए आवश्यक छानवीन सहीत पीडित पक्षको माग अनुसारको प्रक्रिया अघि बढाउन सहजिकरण गर्ने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कविन्द्र बोहराले पीडित पक्षले निवेदन दिएको र दर्ता गरि आरोपीतलाई गिरफ्तारको लागि टोली पठाएको बताएका छन । निवेदनका आधारका पुजारीलाई बोलाइ सकिएको र घटना वास्तविक भए कानुनी प्रक्रिया अघि बढाउने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार