आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा गौरा पर्व कहिले मनाउने भन्ने विषयमा ज्योतिषहरू नै विभाजित

सुदूरपश्चिममा गौरा पर्व कहिले मनाउने भन्ने विषयमा ज्योतिषहरू नै विभाजित

  • सोमवार, साउन १५, २०८०
सुदूरपश्चिममा गौरा पर्व कहिले मनाउने भन्ने विषयमा ज्योतिषहरू नै विभाजित

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ मा गौरा पर्व पर्ने उल्लेख गरेको छ। तर, सुदूरपश्चिमका ज्योतिषीहरूले नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय भन्दा फरक मत राखेका छन्। भदौ ७ गते साउन शुक्ल पक्षको अष्टमी तिथि परेको, पुत्रदा एकादशी अर्थात् गौरे एकादशी र जनैपूर्णिमा पनि ७ गतेपछि परेकाले गौरा पर्व भाद्र कृष्णाष्टमी अर्थात् भदौ २१ गते मान्नुपर्ने तर्क अगाडि सारिएको छ। तर, सुदूरपश्चिमकै केही ज्योतिषहरू भने भदौ ७ गते नै गौरा पर्व मान्नुपर्ने अडानमा छन्।
उनीहरूले गौरा पर्वलाई विवादित बनाउनु गलत भएको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय आधिकारिक हो भन्ने तर्क प्रस्तुत गरेका छन्। भदौ २० गते अगस्तोदय हुने भएकाले भदौ ७ मै गौरा पर्व मान्नुपर्ने ज्योतिष खगेन्द्रप्रसाद अवस्थीको मत छ। ‘भदौको २० गतेपछिको समय अगस्तोदयको समय हो। अगस्तोदयको दोषको कारणले मात्रै ७ गते गौरा मान्नुपर्ने अवस्था आएको हो,’ उनले भने, ‘भदौ २१ गते अगस्तोदयको दोष नमान्नेहरूका लागि हो।
उहाँहरूले पुराणका बचनको आधारमा २३ गते अगस्तोदय हुने हिसाब निकालेका छन्। पञ्चाङ्ग निर्णायक समितिले ७ गते नै गौरा भनेको छ।’ लोक परम्परा र शास्त्रीय मान्यताअनुसार साउन श्रावण शुल्क पक्षमा गौरा पर्व नहुने तर्क गरिएको छ। पुत्रदा एकादशी अर्थात् गोरे एकदशी व्रत बसेर, जनैपूर्णिमा पछि गौरा पर्व पर्ने जिकिर गरिएको छ। शास्त्रीय मान्यताअनुसार ‘अगस्त्य’ उदाउनु भन्दा पूर्व नै गौरा मनाउनु पर्ने विषयमा सबै एकमत भए पनि सुदूरपश्चिममा अगस्तोदय २१ गतेपछि हुने भएकाले गौरा पर्व २१ गते मान्नुपर्ने तर्क ज्योतिष घनश्याम लेखकको छ।

‘भविष्य पुराणमा अगस्तोदयको पूजा २३ गतेपछि गर्नु भनेकाले अगस्तोदयको दोष २३ गतेपछि लाग्छ। पूराना पात्रोहरूमा २३ गतेसम्म गौरा मनाएका उदाहरणहरू छन्,’ उनले भने, ‘दुबधाको भनेको जनैजस्तै भएकाले त्यो धारण गर्न पुत्रदा एकादशी, श्रावणी पूर्णिमा र नाग पञ्चमी हुनुपर्ने भएकाले २१ गते नै गौरा पर्व मनाउनु शास्त्रीय र लोक परम्परा हो।’ राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले काठमाडौंलाई केन्द्र मानेर समय गणना गरी भाद्र २१ गते अगस्त्य उदय हुने दिन तोकेको छ।

त्यसैले २१ गते गौरा मनाउन उपयुक्त छैन भन्ने तर्क गलत भएको जिकिर गरिएको छ। ज्योतिषीय गणनामा सुदूरपश्चिमको स्थानीय अगस्तोदय र काठमाडौंको स्थानीय अगस्तोदयका बिचमा तीन दिनको अन्तर हुने भएकाले सुदूरपश्चिममा २३ गते मात्रै अगस्तोदय हुने प्रमाण र आधार प्रस्तुत गरिएका छन्। स्थानीय चाडपर्वका तिथि–मिति निर्धारण गर्दा स्थानीय अक्षांश र देशन्तरअनुसार गणितीय हिसाब गर्नुपर्ने जिकिर गरिएको छ।

बिगतको स्थापित नजिर र निर्णयसिन्धु तथा धर्मसिन्धुलगायतका ग्रन्थहरूको आधारमा सुदूरपश्चिममा २१ गते नै गौरा पर्व मान्नुपर्ने ज्योतिषीय र सांस्कृतिक आधार रहेको ज्योतिष लेखकको भनाइ छ। अगस्त्य अगस्त ऋषिको नामांकित एक तारा हो। यो तारा काठमाडौलाई केन्द्र मानेर गणितीय हिसाबले गणना गर्दा भाद्र १९ देखि २१ मा उदय भई बैशाख ९ देखि १२ गतेसम्म अस्त हुन्छ।

तर, स्थान विषेशका लागि सोही ठाउँ या क्षेत्रलाई केन्द्र मान्दा अगस्तोदय र अस्त हुने समयमा केही दिनको अन्तर हुने ज्योतिषहरूले बताएका छन्। यो वर्ष अधिक मास परेकाले भदौ ७ र २१ मध्ये कुन दिन गौरा पर्व हो भनेर वादविवाद चुलिएको हो। ज्योतिषीहरूका बिचमा देखिएको मतभेदले यो वर्ष केही स्थानमा भदौ ७ र केही स्थानमा भदौ २१ गते गौरा पर्व मनाइने सम्भावना देखिएको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार