मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • बैतडीमा अनुसन्धान बुडाल मृत्यु प्रकरणमा १२ जना हिरासतमा

बैतडीमा अनुसन्धान बुडाल मृत्यु प्रकरणमा १२ जना हिरासतमा

  • बुधबार, फाल्गुन २४, २०७९
बैतडीमा अनुसन्धान  बुडाल मृत्यु प्रकरणमा १२ जना हिरासतमा

बैतडी –     बैतडीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी जीवन बुडाल मृत भेटिएको घटनामा प्रहरीले सँगै पिकनिक गएका १२ जनामाथि अनुसन्धान गरिरहेको छ। १३ फागुनमा पिकनिक गएका बेला दशरथचन्द नगरपालिका–१० का बुडाल चौलानी नदीको छेउमा मृत अवस्थामा भेटिएका थिए। उक्त घटनामा उनीसँगै गएका १२ जनाविरुद्ध बुडालका परिवारका सदस्यले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बुडालसँगै पिकनिक गएका दशरथचन्द नगरपालिका–४ का ४५ वर्षीय टेकसिंह खत्री, वडा नम्बर ६ का ४८ वर्षीय अर्जुनसिंह रावल, ४० वर्षीय श्यामुसिंह ऐरी, ५० वर्षीय मोहनसिंह ठगुन्ना, ३४ वर्षीय नवीनसिंह ठगुन्ना, ४५ वर्षीय केशवसिंह रावल, ३६ वर्षीय दिपेन्द्र ऐरी, ५२ वर्षीय भीमसिंह ठगुन्ना, ३० वर्षीय भुवन लुहार हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।

दशरथचन्द नगरपालिका–६ कै ४४ वर्षीय नारायणसिंह ऐरी, ४९ वर्षीय गजेन्द्रसिंह रावल र वडा नम्बर १० का ४० वर्षीय पुष्पराज भट्टलाई पनि प्रहरीले हिरासतमा राखेर अनुसनधान गरिरहेको छ। १२ जनाविरुद्ध अनुसन्धानका लागि प्रहरीले दोस्रो पटक १२ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको छ।

अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट समेत छुट्टै प्रहरी टोली खटिएको छ। प्रवक्ता जोशीकाअनुसार प्रहरीले बुडाल मृत भेटिएको नदीको आसपासको क्षेत्रबाट एक किलो बिस्फोटक पदार्थ बरामद गरेको छ। घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाहरुले दिएको बयानका आधारमा बिस्फोटक पदार्थ, केही मात्रामा डिटोनेटर र सेफ्टी फ्युज पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

राष्ट्रिय अनुन्धान समूहका सूचक बुडाल बझाङमा कार्यरत थिए। उनी घर बिदामा आएका बेला हाल पक्राउ परेकाहरुसँगै पिकनिक गएका थिए। सोही राति बुडाल चौलानी नदीको बगरमा मृत भेटिएका थिए। घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै आएका परिवारका सदस्यले बुडालको शव बुझेका छन्। जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरेका १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि ११ दिनपछि आफन्तले मंगलबार शव बुझेका हुन्। प्रहरीले भने बुडाल मृत भेटिएको घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार